पोखरा । केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी र संगठित अपराध कसूरमा पूर्वमन्त्री र पूर्वकर्मचारीसहित ६ जनालाई पक्राउ गरेको छ । मलेसियासँगको सम्झौताविपरीत श्रमिकबाट गैरकानूनी रूपमा उठाइएको १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा रकम अपचलन र मलेसिया पठाउने निर्णयमा संलग्न भएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर २०८३ मंसिर २ गते काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
पक्राउ पर्नेमा अछाम चौरपाटी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ५ बस्ने ६० वर्षीय पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर छन् । त्यसैगरी सर्लाही चक्रघट्टा गाउँपालिका बेलही बस्ने ६१ वर्षीय पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव पनि पक्राउ परेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पूर्वसचिव ललितपुर महानगरपालिका वडा नम्बर २३ बस्ने ६४ वर्षीय बिनोद केसी पक्राउ परेका छन् । मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका पूर्वप्रमुख तथा सहसचिव काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने ५१ वर्षीय उमेश ढुंगाना र ललितपुर महानगरपालिका वडा नम्बर १५ बस्ने ५३ वर्षीय राजिव पोखरेल पनि पक्राउ परेका छन् । यस्तै महाशाखाकै पूर्वकानून अधिकृत तथा उपसचिव काठमाडौं महानगरपालिका वडा नम्बर ९ भक्तेकोपुल बस्ने ४९ वर्षीया निर्मला गुरुङलाई पनि पक्राउ गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी भई कैलाश खड्कासमेत प्रतिवादी रहेको मुद्दामा अनुसन्धान अघि बढाइएको हो । मलेसिया र नेपाल सरकारबीचको सम्झौताविपरीत संकलित ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८०.८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा रकम विदेशी मुद्रा अपचलन गरी देशको अर्थतन्त्र प्रतिकूल हुने गरी संगठित समूहको लाभका लागि मलेसिया पठाउने निर्णय गरिएको आरोप छ ।
सम्झौताको दायरा र कानूनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघी बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराएको ब्यूरोको विज्ञप्तिमा उल्लेख छ । पदीय जिम्मेवारी र कर्तव्यविपरीत श्रमिकलाई संगठित रूपमा ठगी गर्ने काममा मौन रही कानूनी उपचार नगरेको वा नगराएको आरोपमा ठगी र संगठित अपराध निवारण ऐन, २०७० अनुसार अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता अनुपम शमशेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।





