पोखरा । विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मुद्दामा पक्राउ परेका डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेको आरोप उनीविरुद्ध प्रहरीले साइबर अपराधको मुद्दा चलाएर अदालत पुर्याएको थियाे ।
शुक्रबार कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासको आदेश बमोजिम डा. भुसालले अदालतमा धरौटी रकम बुझाएर रिहा भएका हुन् ।
धरौटी रकम बुझाएपछि प्रहरीले भुसालललाई जिल्ला प्रहरी कार्यालयमा लगेको थियो । त्यसपछि फिष्टेल अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि मात्र उनलाई रिहा गरिएको थियो ।
कास्की प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले भुसालबिरुद्ध साइबर अपराधमा एक लाख रुपैयाँ जरीवाना र पाँच वर्षको कैद सजायको मागदाबी गर्दै कास्की जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुर मुद्दा दर्ता गरेको थियो ।
विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजनसमेतमा आँच पुर्याउने, गोपनीयता भंग हुने सामग्री प्रकाशन गरेकाले भुसालमाथि कारबाही हुनुपर्ने माग अभियोजन पत्रमा गरिएको थियो ।
भुसालले विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) ले निषेधित कसुर गरेको पुष्टि हुन आएकाले मागदाबीअनुसार आदेश पाउँ भन्दै सरकारी वकिल कार्यालयले अभियोजन पत्र दर्ता गरेको थियो ।
मुद्दा दर्ता भएपछि शुक्रबारै भएको थुनछेक बहसमा उनलाई ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न अदालतले आदेश दिएको हो ।






