पोखरा । पोखराको नयाँबजारस्थित क्षेत्री समाज नेपालको भवन परिसरमा निर्माण भएको दुर्गा माताको मन्दिर उद्घाटन गरिएको छ । मन्दिरमा दुर्गा मातासहित पाञ्चाङ्ग देवताका मूर्तिको प्राण प्रतिष्ठासमेत भएको छ ।
करिब ३५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त मन्दिर क्षेत्री समाजका केन्द्रीय अध्यक्ष रीबबहादुर थापाले उद्घाटन गरे ।
कार्यक्रममा थापाले समाजलाई गतिशील बनाउन र देशभरका क्षेत्रीहरुलाई एकाकार बनाउन लागिपरेहेको बताए ।
आफूहरुका मुद्धा र मागका बारेमा राज्य मौन रहेको भन्दै उनले राज्यले क्षेत्रीलाई विभेद गरेको आरोप लगाए ।
अध्यक्ष थापाले देशभरका जिल्लामा जागरण सँगसँगै विदेशमा पनि दर्जन देशमा शाखा बिस्तारको योजनामा रहेको बताए । छिट्टै नेपालसहित ११ देशको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने सोच रहेको भन्दै हाल छ वटा देशमा समाजका शाखा रहेको उनले बताए ।
समाजका केन्द्रीय महासचिव कृष्णबहादुर थापाले समाजलाई अब्बल बनाउन लागिपरेको र यसका लागि महानगर, जिल्ला तथा प्रदेश कमिटी चलायमान हुन जरुरी भएको बताए ।
उनले आगामी जेठसम्ममा सबै जिल्लामा सांगठानिक अभियानमा जोडिने र जेठ मसान्तसम्म अभियान सञ्चालन गर्ने बताए ।
क्षेत्री समाज नेपाल गण्डकीका वरिष्ठ उपाध्यक्ष लक्ष्मी अधिकारीले २०७८ सालको घटस्थापनाको दिनमा सिलान्यास गरिएको मन्दिरको निर्माणले अझ सामाजिकीकरण, धार्मिक तथा सांस्कृतिक एकताका लागि उदाहरण बनेको बताइन् ।
क्षत्री समाज नेपाल कास्कीका उपाध्यक्ष अर्चना बस्नेतले पूर्वअध्यक्ष पदमबहादुर कार्कीको परिकल्पनालाई साकार पार्नुपर्ने बताइन् । विभिन्न तह, तप्का, महानगर, दाता, सहयोगी मनको सहयोगबाट मन्दिर निर्माण भएको बताइन् । उनका अनुसार मन्दिर निर्माणमा केन्द्रीय अध्यक्ष थापाले छ लाख ५८ हजार रुपैयाँ सहयोग गरेका छन् ।
क्षेत्री समाज नेपाल कास्कीका अध्यक्ष दिलबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सन्दीप थापाले गरेका थिए ।






