पोखरा । बेलायतका राजकुमार एडवार्ड पोखरा भ्रमणमा आउने भएका छन् । नेपाल भ्रमणका क्रममा उनले पोखराको पनि भ्रमण गर्न लागेको बताइएको छ । उनको पोखरा भ्रमणको दिन र समय भने तय भएको छैन ।
एडवार्ड आफ्नी श्रीमती सोफीसहित मंगलबार नेपाल आउँदैछन् । उनी शनिबारसम्म नेपालमा रहनेछन् । उनको यो भ्रमणलाई निजी भनिएको छ ।
बेलायती राजपरिवारको वेबसाइडमा उनीहरूले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्न लागेको जानकारी दिइएको छ ।
गृह मन्त्रालयले राजकुमार र उनको टिमको भ्रमणको सुरक्षा व्यवस्थाका लागि प्रहरीलाई निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयले उनीहरूको सुरक्षाका लागि पिएसओ खटाउने तयारी गरेको छ ।
राजकुमार र उनको टिम माइती नेपाल, कीर्तिपुर आँखा अस्पताल, भक्तपुरको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ ।
यसअघि २०७२ मा बेलायतका राजकुमार ह्यारी नेपाल भ्रमणमा आएका थिए । उनले बर्दिया, लमजुङ र पोखरा भ्रमण गरेका थिए ।
अहिले नेपाल भ्रमणमा आउन लागेका प्रिन्स एडवर्ड, बेलायतकी महारानी एलिजाबेथ द्वितीया र प्रिन्स फिलिपका कान्छो सन्तान हुन् । उनी अहिले बेलायतको राजगद्दीको उत्तराधिकारीमा १४ औं स्थानमा छन् ।
उनको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध बलियो हुनुका साथै पर्यटन प्रवर्द्धनमा पनि महत्वपवूर्ण आयाम थपिने विश्वास गरिएको छ ।






