पोखरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीले स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं ५ स्थित प्रद्युम्न पनेरु माविलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
१२औँ राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पूजाको अवसर पारेर महासंघले आँधीखोला गाउँपालिका प्रमुख विश्व पौडेल, प्रधुम्न पनेरु माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमनारायण देवकोटा र प्रधानाध्यापक दीप्तिनारायण शर्माको उपस्थितिमा विद्यार्थीलाई पाठ्यपुस्तक, कापी, कलम, खेलकुदका सामग्री, बालकथासहितका शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा आँधीखोला गाउँपालिका प्रमुख पौडेलले गाउँपालिकाभित्रको विद्यालयमा शैक्षिक सामग्री प्रदान गरेकोमा खुशी व्यक्त गर्दै यो सहयोगले विद्यार्थीको पठन-पाठनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

महासंघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पोख्रेलले आफूले अध्ययन गरेको विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । उनले गाउँपालिकाका सामुदायिक विद्यालय मर्ज गरी धेरैभन्दा धेरै शिक्षकद्वारा विद्यार्थीलाई शिक्षा दिन आवश्यक भएको बताए ।
महासंघ अध्यक्ष पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष रामचन्द्र नेपालले स्वागत तथा सहसचिव सुरेन्द्र बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा आँधीखोला गाउँपालिका उपाध्यक्ष सीता थापा, वडाध्यक्ष कृष्ण पनेरु, शिक्षा प्रमुख लक्ष्मी सापकोटा, महासंघ गण्डकी प्रदेशका सदस्य दुर्गादत्त आचार्य, टंक ढकाल, रमेश पौडेल, महासंघ कास्कीका निवर्तमान अध्यक्ष कवीन्द्रप्रसाद पोखरेल, महासंघ कास्कीका कोषाध्यक्ष प्रकाशप्रसाद पोख्रेललगायत सहभागी थिए ।






