पोखरा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा कुनै पनि भारतीय अवैध रूपमा बसोबास गरिरहेको पुष्टि भए उनीहरूलाई भारत फर्काउन आफूहरू पूर्णरूपमा तयार रहेकाे बताएका छन् ।
भ्रमणका क्रममा बिहीबार अमेरिका पुगेका प्रधानमन्त्री मोदीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता भएपछि आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
यस विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मोदी र आफ्नो विचार एउटै भएको बताए । केही आप्रवासीलाई मानव तस्करले ल्याउने गरेको अनि उनीहरू स्वयंलाई अमेरिका लगिएको छ भन्ने थाहा नभएको मोदीले बताए । यसरी ल्याइएका आप्रवासी निकै सामान्य परिवारका मान्छे भएको अनि उनीहरूलाई ठूला सपना र वाचा देखाएर ल्याइएको पनि जिकिर उनले गरे ।
ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि अवैध आप्रवासीलाई समातेर धमाधम देश निकाला गरिरहेका छन् ।
हालै अमेरिकाले आफ्नो सैन्य विमान कागजात नभएका एक सय चार जना भारतीयलाई डिपोर्ट गरेको थियो । यसरी फर्काइएकालाई हात र खुट्टामा हतकडी र नेल लगाइएको विषयमा भारतमा निकै हङ्गामा भएको थियो ।
डिपोर्ट गरिने भारतीय नागरिकसँग कुनै दुव्र्यवहार नहोस् भनेर सुनिश्चित गर्न अमेरिकासँग काम गरिरहेको गत हप्ता भारतका विदेशमन्त्री एस जयशंकरले संसदमा बताएका थिए ।





