पोखरा । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको शनिबारको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाएको छ ।
मूल्य समायोजनसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६७ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको छ ।
यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ कायम गरिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट शनिबारज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ५८ पैसा बढेर र डिजेलमा तीन रुपैयाँ ५९ पैसा घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।






