पोखरा । आज सोमबार हिन्दू धर्मालम्बी हरेक सोमबारलाई विशेष दिनको रुपमा लिन्छन् । किनकी यो दिन भगवान् शिवको पूजाआराधनाको लागि विशेष मानिन्छ ।
तर केवल हिन्दू धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशमा समेत सोमबारको खास महत्व छ ।
साउने सोमबारका दिन देशभरिका शिवालयमा विशेष पूजाआराधना हुने भएता पनि हरेक सोमबारलाई शिवको दिनको रुपमा पुजिन्छ ।
सोमबारको प्रमुख गन्तव्य पोखरा गुप्तेश्वर, पुम्दीकोट, लामाचौरको महेन्द्र गुफा, विन्ध्यवासिनीको शिवालय, म्याग्दीको गलेश्वर, मुस्ताङको मुक्तिनाथ, लमजुङको करापुटारस्थित शिवालय, केदारनाथको शिर मानिने भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, खोटाङको हलेसी महादेव, काठमाडौंको कोटेश्वर, पनौतीको धनेश्वर, महोत्तरीको जलेश्वर,धरानको पिण्डेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको दुप्चेश्वर आदि शिवालयमा पनि सोमबारका दिन मानिस पुग्छन् ।
यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । यस दिन शिव र पार्वतीको पूजा आराधना गरिन्छ । सोमबारको उपवासले मनोकांक्षा पूरा हुने विश्वास रहिआएको छ ।
नेपाली समाजमा अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन पनि छ । सोमबार शिवको व्रत बस्ने चलनको पछि धेरै पौराणिक तथा धार्मिक कथा छन् ।
पहिलो कथामा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात् धन प्राप्त गरेको कथा छ ।
दोस्रो एक धनी व्यापारीको छ । कथा अनुसार शिव र पार्वतीको कृपाले छोराको पुनर्जन्म भएको थियो । तेस्रो-शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ ।
यो मन्त्र जप्नुहोस्ः
ऊं नमः शिवाय
नमः शिवाय
शुभं शुभं
कुरू कुरू शिवाय नमः ऊं, नमो नीलकण्ठाय, ऊं पार्वतीपतये नमः, ऊं पशुपतये नम ।
पूजा विधि
-सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरीर नुहाउनुहोस् ।
-नजिकको शिव मन्दिर गाई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्।
-शिवलिङ्गमा चन्दन, चामल, बेलपत्र र धतुरोको फूल चढाउनुहोस् ।
-यसपछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घीउ वा सक्खरको भोग लगाउनुहोस् र अन्तिममा धूप, दीप बालेर आरती गर्नुहोस् ।
-साथै दुखी गरिबको सेवा, सम्मान, माया, सहयोग कायमै राख्नुहोस् ।






