पाेखरा । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
नेपालको विक्रम संवत् २००७ सालको क्रान्तिले एक सय चार वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहीत हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, गण्डकी प्रदेश प्रमुखलगायतले सबै नेपालीमा शुभकामना दिएका छन् ।
प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहीत हुनुपर्छ भन्ने मान्यतालाई सङ्घर्ष र सहिदको बलिदानबाट स्थापित भएको स्मरण गराएका छन् ।






