पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारस्थित नीति एकेडेमीको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को समन्वयमा डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम शुभारम्भ भएको छ । तालिममा पोखरा-६ का ४० जना विद्यार्थी सहभागी छन् ।
एक महिनासम्म सञ्चालन हुने तालिममा नीति एकेडेमीका डम्मर खडायत प्रमुख प्रशिक्षक र माधव पोखरेल सहायक प्रशिक्षकको रुपमा रहनेछन् ।
तालिम उद्घाटन सत्रमा पोखरा-८ वडाध्यक्ष रुद्रनाथ बराल र पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीसमेत सहभागी थिए ।
एआई टुल्समार्फत कार्यक्रम शुभारम्भ गर्दै पोखरा-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले युवा पुस्ताको आवश्यकता, आर्थिक उन्नति र समृद्धिलाई पनि ध्यानमा राखेर तालिमका लागि नीति एकेडेकीसँग सहकार्य गरिएको बताए ।

विद्यार्थीले डिजिटल मार्केटिङ र एआईसम्बन्धी ज्ञान हासिल गर्नुका साथै तालिमपश्चात् आयआर्जनमा जोडिनेसमेत विश्वास व्यक्त गरे ।
प्रशिक्षार्थीप्रति लक्षित गर्दै वडाध्यक्ष भट्टराईले भने, ‘युवालाई स्वरोजगारयुक्त बनाउन तालिम आयोजना गरिएको हो, सबै दिनको तालिममा सहभागी भएर डिजिटल मार्केटिङ र एआईमा दक्ष बन्नुहोला, भविष्यका दिनमा यो भन्दा पनि बृहत तालिम ल्याउन आवश्यक हुन्छ भने पनि त्यसका लागि तयार छौँ ।’
पोखरा-९ का वडाध्यक्ष मर्सानीले नीति एकेडेमीले निकै समयसान्दर्भिक तालिम आयोजना गरेको भन्दै आफूले पनि यस विषयमा ध्यान दिने बताए ।
वडाध्यक्ष मर्सानीले युवालाई समयसापेक्ष डिजिटल तालिम दिएकामा पोखरा-६ लाई धन्यवाद दिए ।
उनले भने, ‘धेरै नेताले यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भनेर भाषण गरे पनि वास्तविक नेता वडाध्यक्ष विष्णुबहादुर भट्टराई र वडा सदस्य शोभा जलारी हुनुहुन्छ, उहाँहरुले भाषण होइन राम्रो काम गरेर देखाउनुभयो ।’
नीति एकेडेमीको प्रशंसा गर्दै वडाध्यक्ष मर्सानीले आफूले आफ्नै वडाभित्रको फूल फुल्ने ठाउँ नदेखेको बताए ।
अहिलेको जमाना डिजिटल मार्केटको रहेको भन्दै उनले अहिले ६ नम्बर वडाले शुरुआत गरेको भएपछि आगामी दिनमा आफूले पनि ध्यान दिने बताए । उनले भने, ‘अगाडि वडा नं ६ र पछाडि वडा नं ९ छ भनेर सम्झिन आग्रह गर्दछु ।’
पोखरा-८ का वडाध्यक्ष बरालले युवा लक्षित कार्यक्रमले धेरै नै महत्व राख्ने बताए । उनले तालिम लिएका विद्यार्थी स्वरोजगार बन्ने दावीसमेत गरे । उनले भने, ‘वडामा अचार बनाउने तालिम जारी छ, कौशीखेती लगायत धेरै तालिम गरिरहेका छौँ, अब यस किसिमको समयसापेक्ष कार्यक्रम गर्ने सोच पनि बनाउनेछौँ ।’

पोखरा-६ की वडासदस्य शोभा जलारीले वडालाई प्रविधिसँग जोड्न तालिम आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘विगतमा अन्य किसिमका धेरै तालिम आयोजना गरेका थियौँ, अहिले प्रविधिसँग सम्बन्धित तालिम आयोजना गर्दैछौँ, भविष्यमा पनि प्रभावकारी र उपलव्धिमूलक कार्यक्रम गर्न तयार छौँ ।’
एकेडेमीका अध्यक्ष माधव पोखरेलले एआईले फड्को मारिसकेको अवस्थामा यसैसम्बन्धी शिक्षा अपरिहार्य रहेको बताए ।
तालिमका लागि तालिम आयोजना नगरिएको भन्दै उनले तालिमले विद्यार्थीलाई धेरै कुरा सिकाउने र व्यवसायिकतातर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे ।
एकेडेमीका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदीप पराजुलीले स्वागत र हरि पन्तले सञ्चालन गरेका थिए ।
नीति एकेडेमीले ग्राफिक डिजाइन, वेव डिजाइनिङ, डिजिटल मार्केटिङ, वेसिक तथा डिप्लोमा कम्प्युटर ट्रेनिङ, सफ्टवेयर डेभलपमेन्ट र आरजे एवं भीजे ट्रेनिङ गर्दै आएको छ । हालसम्म नीति एकेडेमीले करिब पाँच सय विद्यार्थीलाई शिक्षा प्रदान गरी रोजगार दिन सफल भएको छ ।






