पोखरा । आज विश्व गैरसरकारी संस्था दिवस विश्वभर मनाइँदै छ । गैरसरकारी संघसंस्थालाई समाज विकासमा थप हौसला दिन संयुक्त राष्ट्रसंघ (यूएनओ)ले हरेक वर्षको २७ फेब्रुअरीमा यो दिवस मनाउने गरेको हो । आज विश्वमा लाखौं गैरसरकारी संघसंस्था क्रियाशील छन् ।
समाज कल्याण परिषद्ले नेपालमा कार्यरत गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको दर्ता तथा नियमन गरिररहेको छ । विशेषतः दिवसले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा गैर-सरकारी संस्थाले समाजमा पुर्याएको योगदान र अन्य गतिविधिको महत्वलाई विश्वसामु प्रस्ट पार्ने प्रयास गर्दछ ।
विश्वको तथ्यांकलाई हेर्ने हो भने कुनै पनि देशमा जब राज्य कमजोर हुन्छ, गैरसरकारी संस्थाको (गैसस) प्रभाव बढेको देखिन्छ । लामो समयसम्म द्वन्द्वमा रहेका देश द्वन्द्व समाधान पछि र प्राकृतिक विपत् पछि यस्ता संस्थाको संख्या उल्लेख्य मात्रामा बढेको पाइन्छ ।
विश्वका धैरै देशमा गैससको उपस्थिति छ र अनुसन्धानले के देखाउँदछ भने विश्वका करिब ८० प्रतिशत जनताले गैरसरकारी संस्था सकारात्मक सामाजिक परिवर्तनमा भूमिका खेलेको विश्वास गर्दछन् ।






