पोखरा । पोखरा-१९ को एक टोली विकासका योजनामा बजेट माग गर्दै संघीय राजधानी काठमाडौँ पुगेको छ । निर्वाचनका बेला स्थानीय तहका जनतासँग गरेका विकास निर्माणका बाचा पूरा नहरने देखिएपछि समानीकरण अनुदान रकम विनियोजन गर्नका लागि विभागीय मन्त्री र सांसदलाई झक्झक्याउन टोली योजना बोकेरै काठमाडौँ पुगेको हो ।
टोलीको नेतृत्व एमाले नेता एवं पूर्ववडाध्यक्ष शोभामोहन पौडेलले गरेका छन् । टोलीमा इमानराज पौडेल, पूर्व वडासदस्य कृष्णप्रसाद गौतम, वडासदस्य विकासकुमार आचार्य र पर्व महालेखा परीक्षक महेश्वर काफ्ले छन् ।
टोली भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी मन्त्रालयसहित विभिन्न निकायमा पुगेको पोखरा-१९ का वडासदस्य विकासकुमार आचार्यले जानकारी दिए ।
टोलीले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाललाई मन्त्रालयमा भेटेर योजना पेश गर्र्दै सडक, पुल, खानेपानी निर्माणका योजनालाई प्राथमिकतामा राखेर योजना अघि बढाइदिन आग्रह गरेको छ ।
यस्तै खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर पोखरामा वितरण हुने खानेपानी शुद्घीकरणका लागि पुरुञ्चौरमा फिल्टरेशन ट्याकीं निर्माण र त्यहाँसम्म पुग्ने सडक निर्माणमा सहयोग गर्न ध्यानाकर्षण गराएको छ ।
मन्त्री दाहाल र यादवले पुल र सडक निर्माणलाई पहिलो प्राथमिकता दिने र अन्य योजनालाई क्रमिक रुपमा अघि बढाउने आश्वासन दिएका छन् ।
टोलीले विभिन्न विभागका प्रमुखसँग भेटवार्ता गरी जनताका प्रत्यक्ष सरोकारका विषयलाई उच्च प्राथमिकता दिन आग्रह गरेको छ ।
एमाले नेता पदम गिरी र प्रमुख सचेतक महेश बर्तौलासहित खानेपानी संस्थानका महाप्रबन्धक त्रिदेव श्रेष्ठ, प्रधानमन्त्रीका स्वकीय सचिव विनोद कुँवरसँग पनि टोलीले भेटघाट र छलफल गरेको थियो ।
नेता पौडेलले आफूहरुले पेश गरेको योजनामा मन्त्रीबाट सकारात्मक जवाफ पाएकाले केही योजना तत्काल शुरु हुने विश्वास व्यक्त गरे । टोलीले माछापुच्छ्रे सडक निर्माण र स्तरोन्नति, पोखरा-१९ र २५ जोड्ने सेती नदीमाथि पक्की पुल,अमलाविसौंनी घार्मी आलेवारी काउरे ग्रामीण सडक, लाम्पाटा सडक, तल्लाकोट छपाली थोक सडक निर्माण, घार्मीस्थित मणिमा पर्यटकीय पार्क निर्माणलगायतका विकास निर्माणमा बजेट विनियोजन गर्न माग गरेको छ ।






