पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार सराङकोट आउने भएका छन् । श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको उद्घाटन गर्न उनी शनिबार सराङकोट आउने भएका हुन् ।
राष्ट्रपति नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान १० बजे काठमाडौँबाट सिधै सराङकोट धाम झर्ने बताइएको छ ।
राष्ट्रपतिले महाउत्सवसँगै सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखी गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर, देवालय, १०८ शिललिङ्ग तथा धारा उद्घाटन गर्ने कार्यक्रम छ ।
कार्यक्रममा राष्ट्रपतिसँगै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले सम्बोधन गर्ने सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए । अध्यक्ष जिसीका अनुसार उद्घाटन कार्यक्रमको सबै तयारी पूरा भएको छ ।
सराङकोटमा राष्ट्रपति आउने भएपछि कास्कीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायमा प्रमुख एवं प्रतिनिधिले शुक्रबार नै सराङकोटको अवस्थाबारे बुझिसकेका छन् भने त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको बताइन्छ ।
फागुन १४ देखि शुरु भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महाउत्सव जारी छ । जसअन्तर्गत शुक्रबार मात्रै ६५ लाख रुपैयाँ भन्दा बढी दान संकलन भएको प्रचारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए ।
सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । सराङकोटमा अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।
महाउत्सवमा सामुहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पूजा तथा संगीतमय भजन कीर्तन भइरहेको छ भने भागवत् भाष्कर पण्डित कमलनयन गौतमले कथा प्रवचन गरिरहेका छन् ।






