पोखरा । कास्कीको मादी गाउँपालिकाद्वारा आयोजित खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा यही फागुन २७ देखि २९ गतेसम्म भलिबल प्रतियोगिता आयोजना गरेको अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । प्रतियोगिता मादी गाउँपालिका वडा नं ३ याङ्जाकोटमा हुनेछ ।
अध्यक्ष गुरुङका अनुसार पहिलो संस्करणमा पालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता गरिएको भए पनि दोस्रो संस्करणमा खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिता विजेताले दुई लाख, उपविजेताले एक लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने विधागतर्फ उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ ।
यस्तै पालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकबीच हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।






