पोखरा । होटल प्रतिनिधि समाज पोखराले मानव सेवा आश्रमलाई सहयोग गरको छ ।
संस्थाको २५औँ वार्षिकोत्सव तथा रजत जयन्तीको अवसर पारेर पोखरा हेमजास्थित आश्रममै पुगेर २५ हजार पाँच सय २५ रुपैयाँ सहयोग गरेको हो ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलिया र समाजका अध्यक्ष माधव लम्साल, पूर्वअध्यक्ष लक्ष्मण सुवेदीलगायतले आश्रमलाई रकम हस्तान्तरण गरेको हो ।
उक्त अवसरमा एसपी ओलियाले मानव सेवा नै सबै भन्दा ठूलो सेवा भएको बताए । उनले होटल प्रतिनिधि समाजले गरेको सहयोग निकै उत्कृष्ट भएको बताए ।
समाजका पूर्व अध्यक्ष तथा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले समाजले विगतदेखि नै रचनात्मक काम गर्दै आएको र रजत जयन्तीमा पनि उत्कृष्ट काम गरेको बताए ।
यस्तै प्रकारका सहयोग आगामी दिनमा र अन्य क्षेत्रबाट पनि आउनुपर्ने उनले बताए ।
समाजका अध्यक्ष माधव लम्सालले समाजले विगतदेखि नै रचनात्मक काम गर्दै आएको र रजत जयन्तीको अवसरमा पनि सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
समाजका अध्यक्ष लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव शिव पौडेलले गरेका थिए ।
कार्यक्रमको संयोजन माजका वरिष्ठ उपाध्यक्ष जीवराज उपाध्यायले गरेका थिए ।
रजत जयन्तीकै अवसरमा समाजले सदस्यबीच सेभेन ए साइड फुटवल प्रतियोगिता आयोजना गरेको थियो ।
चार टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको उपाधि टिम नीलोले जितेको थियो । टिम रातोलाई १-० गोलले हराउँदै निलोले उपाधि जितेको हो ।
रजत जयन्तीकै अवसरमा आगामी चैत २ गते विशेष कार्यक्रम गरिने संयोजक एवं समाजका प्रथम उपाध्यक्ष दिलबहादुर अधिकारी (निरज) ले जानकारी दिए ।






