पोखरा । वडा प्रहरी कार्यालय बैदामले जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा ‘पीडित सम्पर्क’ कार्यक्रम शुभराम्भ गरेको छ ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले कार्यक्रम शुभारम्भ गरे । सो क्रममा एसपी ओलियाले केही पीडितलाई भेटेर भलाकुसारी गरेका थिए ।
बैदाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष निरौलाका अनुसार पीडित सम्पर्क कार्यक्रम यसअघि मुद्दा चलेर प्रहरीको हिरासतमा बसेर रिहा भएका व्यक्तिसँग भेटघाट गर्ने, उनीहरुका अवस्था बुझ्ने र उनीहरुका गुनासा सुन्ने कार्यक्रम हो ।
डीएसपी निरौलाका अनुसार कार्यक्रम शुभारम्भका अवसरमा चार जना पीडितसँग भेटघाट गरिएको छ । अब प्रत्येक महिनाको एक दिन पीडित सम्पर्क कार्यक्रम हुने उनले बताए ।
यो अभियान निकै राम्रो भएकाले कास्की जिल्लाभर लागू हुने एसपी ओलियाले जानकारी दिए ।
यसले प्रहरीको कामकार्वाही कत्तिको प्रभावकारी भयो र पीडितको जीवनमा कस्तो परिवर्तन ल्यायो भन्ने विषय स्पष्टसँग बुझाउने उनको विश्वास छ ।
व्यक्तिगत सुरक्षा, पीडक पक्षबाट हुने सम्भावित दवाव, न्यायिक प्रणालीप्रतिको आस्था तथा अपराध पीडित संरक्षण ऐनबमोजिम पीडितले प्राप्त गर्ने विभिन्न अधिकारका बारेमा जानकारी आदान-प्रदान गर्न कार्यक्रम महत्वपूर्ण हुने डीएसपी निराैलाले बताए ।
बैदाम प्रहरीले घर-घरमा प्रहरी अभियान यसअघि नै शुरु गरिसकेको छ । उक्त कार्यक्रम निकै प्रभावकारी भएको डीएसपी निरौलाले बताए ।
उनले समुदायको सहयोग, सुझाव तथा सूचना भएमा मात्र अपराध नियन्त्रण, अनुसन्धान र कारवाही गर्न सहज हुने स्पष्ट पारे । उनले भने, ‘यो अभियानले प्रहरी र नागरिक बीचको सम्बन्ध थप बलियो बनाउने विश्वास छ ।’
शान्ति सुरक्षा तथा प्रहरीसँग सम्बन्धित गुनासो, समस्या तथा सूचना भएका दिन उनले नागरिकलाई आग्रह गरे । अभियानअन्तर्गत प्रत्येक घरघरमा नेपाल प्रहरी पुगी जनताका समस्या, शान्ति सुरक्षाको अवस्था तथा प्रहरीप्रतिको धारणा बुझ्नुका साथै गुनासाका लागि क्यूआर कोड, प्रहरीको सम्पर्क नम्बरसहितको स्टिकर टाँस्ने गरिन्छ ।
तस्बिर








