पोखरा । पोखराको तापक्रम विस्तारै बढ्दै गएको छ । बिहान र साँझभन्दा दिउँसोको समयमा बढी गर्मी महसुस हुन थालेको छ ।
पोखरामा आज बिहान ८ बजेकै तापक्रम १९ डिग्री सेल्सियस छ । यो तापक्रम बढेर आज २७ डिग्री सेल्सियसम्म पुग्ने अनुमान गरिएको छ ।
पोखरामा आजको दिन घमाइलो रहने, सापेक्षित आद्रता ५४ प्रतिशत रहने र वर्षाको सम्भावना नरहेको बताइएको छ ।
यता, देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई मुख्यतया मौसम सफा रहेको छ ।
जसकाे प्रभावले आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागमा मुख्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । देशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ ।
आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।






