पोखरा । दक्षिण एशियाली ज्योतिष महासंघ गण्डकी प्रदेश सभापति ज्योतिषी पण्डित विष्णुप्रसाद सुवेदी सम्मानित भएका छन् । उनी ज्योतिष रत्न अवार्ड र गोरखनाथ अवार्ड गरी दुईवटा अवार्डद्वारा सम्मानित भएका हुन् ।
दक्षिण एशियाली ज्योतिष महासंघ नेपालले गोरखामा आयोजना गरेको राष्ट्रिय ज्योतिष, वास्तु एवं तन्त्र सम्मेलनमा सभापति सुवेदीलाई सम्मान गरिएको हो ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्याल, गोरखा नगरपालिकाका मेयर कृष्ण थापा, डा माधव मंगल जोशी, डा शहदेव विष्ट, डा लोकराज पौडेललगायतले उनलाई सम्मान गरेका हुन् ।
पर्वत देउपुरमा जन्मिएका सुवेदीले बाल्यकालको कलिलो उमेरबाटै पिताजीको सहयोगमा ज्योतिष तथा कर्मकाण्ड अध्ययन गरे । उनी नेपालको वनारस मानिने पर्वतको पाङ आफ्नै मामाघरमा पुगी ज्योतिष तथा कर्मकाण्डमा अध्ययन गरे ।
अध्ययनकै शिलशिलामा वनारसबाट ज्योतिष विषयमा आचार्य गरेका उनी हाल फलित ज्योतिषमा विद्यावारिधि अध्ययन गरिरहेका छन् ।
विगत ३२ बर्षदेखि सरकारी शिक्षकको रुपमा स्थायी सेवा गरी निवृत्त भएका उनी ३५ बर्षदेखि देउपुर तथा पोखराबाट ज्योतिष सेवा प्रदान गरिरहेका छन् ।
उनले लामो समयदेखि ज्योतिषीय संस्थाको विभिन्न जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् । वि.सं. २०७७ सालमा दक्षिण एशियाली ज्योतिष महासंघको गण्डकी प्रदेश सभापति निर्वाचित उनी २०८० मा मुक्तिनाथमा सम्पन्न दोस्रो अधिवेशनबाट पुनः गण्डकी प्रदेशको सभापति निर्वाचित भए ।
उनले ज्योतिष क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप २०७४ मा अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनमा टिम लिडर अवार्ड तथा ज्योतिष भूषण अवार्ड प्राप्त गरे । अन्तर्राष्ट्रिय ज्योतिष अलंकार अवार्ड, पशुपतिनाथ अवार्ड, मुक्तिनाथ अवार्डसहित दर्जन बढी पुरस्कार तथा सम्मानसमेत उनले प्राप्त गरिसकेका छन् ।
सुवेदी गणित, फलित, आधुनिक ज्योतिष, वास्तु शास्त्रसहित हस्त ज्योतिष तथा तन्त्र शास्त्रका विज्ञका रुपमा परिचित छन् ।






