पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महिलाहरुको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक रहेको बताएका छन् ।
मंगलबार चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पताल र काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरभित्र सञ्चालन हुने स्क्रिनिङ्ग कार्यक्रको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले सरकारले चालु आर्थिक वर्षभित्र ५० लाख महिलामा स्तन, पाठेघर र सर्भाइकल क्यान्सर भए/नभएको पत्ता लगाउन स्क्रिनिङ्ग गर्ने लक्ष्य रोखको उल्लेख गरे ।
स्त्रिनिङ्गको कार्यक्रम स्थानीय तहसम्म पुर्याउन सकेमात्र यो लक्ष्य हासिल हुने उनको भनाइ छ । उनले सरकाले गएको फागुन महिनालाई स्क्रिनिङ्ग अभियानको रुपमा सञ्चालन गरेको समेत बताए ।
उक्त अभियानमार्फत कक्षा ६ देखि १० सम्म पढ्ने ९४ प्रतिशत किशोरीलाई एच.पी.भि खोप लगाइएको समेत मन्त्री पौडेलको दावी छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय भएको उल्लेख गर्दै उनले स्थानीय तहसँग जोड्नसके मात्रै स्क्रीनिङ्ग कार्यक्रम सफल हुने दावी गरे।
उनले भने, ‘यो स्क्रिनिङ्गको कार्यक्रम पनि हामीले स्थानीय तहमै पुर्याउन सक्यौं भने मात्रै हामीले भनेजस्तो ५० लाख नागरिकको स्त्रिनिङ हुनसक्छ, हामीले फागुनको महिनालाई स्क्रिनिङको महनिा भने घोषणा गर्याैँ, र यो अभियानमा एच.पी.भि. खोप एकदमै सफल भयो, ९४ प्रतिशतले एच.पी.भि लगाउनुभएको छ ।’
मन्त्री पौडेलले थपे, ‘त्यसकारण जनतासँग प्रत्यक्ष सरोकार राख्ने भनेको स्थानीय तह नै, त्यसकारण हामीले स्थानीय तहमा स्क्रिनिङ्ग कार्यक्रम गर्याैँ भने यो कार्यक्रम सफल हुनसक्छ, अहिले काठमाडौं महनागरसँग प्रतिष्ठानको सहकार्य भएको छ, यो एउटा उदाहरणीय बन्नेछ अब हामी ललितपुरलाई पनि अनुरोध गर्नेछौँ, अब हामी नेपालका सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुलाई अनुरोध गर्नेछौँ र यो वर्षभित्र ५० लाख मानिसको स्क्रीनिङ्ग गर्ने लक्ष्यलाई हामी सार्थक बनाउन तिर लाग्नेछौं ।’
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले क्यान्सर लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिने कुरा सबैको प्राथमिकतामा हुनुपर्ने बताइन् । उनले महिलाको स्तन, पाठेघर तथा अर्भाइकल क्यान्सरको पहिचान गर्नको लागि काठमाडौं महानगरपालिकाले स्क्रिनिङ्गका कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।
उनले महानगरवासीको सहजताका लागि स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना, निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने र र हेल्थ क्याम्प आयोजना गर्ने काम भइरहेको बताइन् । उनले महिलासँग सम्बन्धित दीर्घ रोगहरु महानगरको प्राथमिकतामा रहेको समेत बताइन् ।
उनले भनिन्, ‘रोग लाग्न नदिनु हाम्रो पहिलो प्राथमिकता हुनुपर्दछ, रोग लागेपछि उपचार गर्ने कुरा त छँदैछ तर महत्वपूर्ण कुरा रोग लाग्न नदिनु हो, महिलाको स्तन, पाठेघर तथा अर्भाइकल क्यान्सरको पहिचान गर्नको लागि काठमाडौं महानगरपालिकाले स्क्रिनिङ्गका कार्यक्रम गरिरहेको छ, स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना, निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने, औषधि प्रदान गर्ने र विभिन्न ठाउँमा गएर हेल्थ क्याम्प आयोजना गर्ने कामहरु गरिरहेका छौं, खासगरि महिलामा हुने स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको स्क्रिनिङ्ग हाम्रो प्राथमिकतामा छ, हामीले महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने महिलामा समेत यस्ता लक्षण देखेका छौं ।’
नेपाल तथा विकासशील मुलुकमा पाठेघरको मुखको क्यान्सरपछि महिलामा सबैभन्दा धेरै देखिने क्यान्सर स्तन क्यान्सर हो । समयमै स्क्रिनिङ गर्न नपाउँदा पाठेघरको मुखको क्यान्सरबाट वर्षेनी सयौँको संख्यामा नेपालमा महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको सरकारी तथ्यांक छ ।
भिडियाे






