पोखरा । जिल्ला फुटबल संघ कास्कीका महासचिव बुद्धिबहादुर खत्री क्षेत्रीले पदबाट राजीनामा दिएका छन् । हालै सम्पन्न चौथो शितलज्योति कप फुटबल प्रतियोगितामा विवाद भएको र सो विवादले आफूलाई नैतिक दावावमा पारेकाले राजीनामा दिएको खत्रीले बताएका छन् ।
प्रतियोगितामा व्यवस्थापनगत असहजताले विवाद निम्तिएको र यसप्रति आफू पनि असन्तुष्ट रहेको उनले बताए ।
खत्री नवआर्दश क्लबका पूर्वअध्यक्ष हुन् । नवआदर्श क्लबले विना कारण सजाय भोग्नुपरेकोमा दुःख व्यक्त गर्दै उनले आफू आवद्ध क्लबलाई आफैले कार्वाही गर्नु उचित नहुने र यसले पनि आफूलाई निकै ठूलो नैतिक दवावमा पारेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै उनले कास्कीमा फुटबल खेलको विकास, विस्तार तथा आयोजनामा विभिन्न समस्या देखिएपछि आफूले महासचिवको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरे ।
उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘क्वाटरफाइनल खेल्ने एक टिम नवआदर्श सामुदायिक विकास समाज म आवद्ध क्लब रहेको, सो खेल र आयोजको जिल्ला संघमा प्राप्त पत्रका सम्बन्धमा जिल्ला फुटबल संघ कास्कीमा आधिकारिक बहस छलफलै नभै अखिल नेपाल फुटबल संघमा पत्राचार भएको विषयमा मलाई नैतिक दबाब सृजना हुनु स्वभाविक पनि हो ।’
उनले विज्ञप्तिमा थप भनेका छन्, ‘जिल्ला संघको प्रशासनिक जिम्मेवारीमा रहने महासचिवलाई पत्राचारको विषयमा अनविज्ञता रही विना कारण प्रतियोगितामा क्लबले सजाय भोगिरहनु परेको विषय म आबद्ध नवआदर्श सामुदायिक विकास समाजमा ठूलै बहस पैरवी भएको समेत स्मरण गराउन चाहन्छु ।’
यस्तो छ विज्ञप्ति
प्रस्तुत विषयका सन्दर्भमा जिल्ला फुटबल संघ कास्कीमा आवद्ध क्लब श्री शितल ज्योति युवा क्लब पोखराले चौथो शितलज्योति कप फुटबल प्रतियोगिता २०८१ पोखरा रंगशालामा सञ्चालन भैरहेको सन्दर्भमा सो प्रतियोगिताको मिति २०८१ चैत ५ गतेको एलजि एसोसिएसन र नवआदर्श सामुदायिक विकास समाज बिचको खेल समाप्तिपछि खेलका सम्बन्धमा प्रोटेम्स परेको र सो प्रोटेस्ट छानविनका लागि आयोजकले जिल्ला फुटबल संघ कास्कीलाई पत्राचार गरेको व्यहोरा अखिल नेपाल फुटबल संघको मिति २०८१-१२-७ को च नं.१००३/०८१/०८२ पत्र मार्फत जानकारी प्राप्त भयो ।
क्वाटरफाईनल खेल्ने एक टिम नवआदर्श सामुदायिक विकास समाज म आवद्ध क्लब रहेको, सो खेल र आयोजको जिल्ला संघमा प्राप्त पत्रका सम्बन्धमा जिल्ला फुटबल संघ कास्कीमा आधिकारिक बहस छलफल नभै अखिल नेपाल फुटबल संघमा पत्राचार भएको विषयमा मलाई नैतिक दबाब सृजना हुनु स्वभाविक पनि हो । जिल्ला संघको प्रशासनिक जिम्मेवारमा रहने महासचिवलाई पत्राचारको विषयमा अनविज्ञता रही विना कारण प्रतियोगितामा क्लबले सजाय भोगिरहनु परेको विषय म आबद्ध नवआदर्श सामुदायिक विकास समाजमा ठूलै बहस पौरवी भएको समेत स्मरण गराउन चाहन्छु ।
नव आदर्श सामुदायिक विकास समाजले आफ्ना न्यायिक मागका गतिविधि सञ्चालन गर्दा म जिल्ला फुटबल संघको प्रशासनिक जिम्मेवार रहने महासचिव जस्तो गरिमामय पदमा बहाल रहन मैले सान्दर्भिकता देखिन । जसका कारण फुटबल खेलका विकासमा उपलब्धि प्राप्ति नहुने र संघको समेत चौतर्फी आलोचना हुने हुँदा मैले जिल्ला फुटबल संघ कास्कीको महासचिव पदबाट विनम्रतापूर्वक आजकै मितिबाट स्वीकृत हुने गरी यो राजीनाका पेश गर्दछु ।
आगामी दिनमा फुटबल खेलको विकास र विस्तारमा म मेरो तर्फबाट आफ्नो क्षमताले भ्याएसम्म सकारात्मक तवरबाट सदैव तत्पर रहने समेत प्रतिवद्धता व्यक्त गर्दछु ।
यहाँहरुको सहयोग र सहकार्यका लागि धन्यवाद् ।






