पाेखरा । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ गाेलाङस्थित भीमाेदय माविमा पार्वती पाण्डे अधिकारी स्मृति अक्षयकोष घाेषणा गरिएकाे छ । अधिकारीका परिवारजनले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि एक लाख ६१ हजार छ सय १६ रुपैयाँकाे छात्रवृत्ति अक्षयकोष घाेषणा भएकाे हाे । जसमा पार्वतीकाे घरपरिवारबाट एक लाख ११ हजार एक सय ११ र माइती परिवारबाट ५० हजार पाँच सय पाँच रुपैयाँ रहेकाे छ ।
पार्वतीका पति शम्भु अधिकारी, पिता घनश्याम पाण्डेलगायत परिवारजनले त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीकाे उपस्थितिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवबहादुर बसाैला, प्रधानाध्यापक बिष्णुहरि शाहलाई अक्षयकोष रकमकाे चेक हस्तान्तरण गरे ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष उप्रेतीले पार्वतीकाे अकल्पनीय निधनले आफू निकै मर्माहत भएकाे बताए । पार्वतीलाई अमर बनाउन अक्षयकोषले महत्त्वपूर्ण भूमिका खेल्ने उनले स्पष्ट पारे । उनले भने, ´अक्षयकोष विद्यार्थीकाे पठनपाठनमा मात्र हाेइन पार्वतीलाई अमर बनाउन महत्त्वपूर्ण हुन्छ ।´
पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राडा दिलबहादुर क्षत्रीले पार्वतीकाे अल्पायूमै भएकाे देहावसानले आफू अत्यन्तै मर्माहत भएकाे बताए । उनले आफ्ना दुई र पार्वती गरी तीन छाेरी भएकाे उल्लेख गर्दै दुःखकाे याे क्षण भुल्न निकै कठिन भएकाे बताए ।
मन्तव्यका क्रममा पटक पटक भक्कानिएका क्षत्रीले शाेकलाई शक्तिमा बदल्न अक्षयकोषले भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, पार्वती निकै असल संस्कारकी छाेरी थिइन्, उनी र शम्भुकाे जाेडी नमुना थियाे, अब शाेकमा डुबेर हुँदैन, शक्तिमा बदल्न सक्नुपर्छ ।
विद्यालय प्रधानाध्यापक शाहले पार्वतीले कखरा सिक्दै गर्दाका सम्झना झलझली आइरहेकाे भन्दै उनकाे देहावसानले आफू निकै भावविह्वल भएकाे बताए ।
उनले अक्षयकोष रकमकाे सही सदुपयोग गर्ने प्रतिवद्वता जनाउँदै सकिन्छ भने काेषकाे रकम बढाइदिन आग्रह गरे । प्रअ शाहले विद्यालयमा धादिङ-पाेखरा सम्पर्क समाज, पूर्व शिक्षक र स्थानीय समाजसेवीले स्थापना गरेका विभिन्न अक्षयकोषकाे पनि सही सदुपयोग भइरहेकाे स्पष्ट पारे ।
कृषि बजार व्यवस्थापन समिति अध्यक्ष नवराज दुवाडीले पार्वती सुशील र आदर्शवान नारी रहेकाे चर्चा गर्दै परिवारजनले उनकाे सम्झनामा अक्षयकोष स्थापना गरेर निकै प्रशंसनीय कार्य गरेकाे बताए ।
धादिङ-पाेखरा सम्पर्क समाजका अध्यक्ष सरस्वती श्रेष्ठले समाजका सल्लाहकार शम्भु अधिकारीकी धर्मपत्नी पार्वतीकाे निधनप्रति दुःख व्यक्त गर्दै सबैले शाेकलाई शक्तिमा बदलेर अघि बढ्न सक्नु पर्ने बताइन् ।
पार्वतीका जेठाजु गाेकर्ण अधिकारीले एकै वर्ष परिवारका दुई सदस्य गुमाउनु पर्दाकाे पीडा खपिनसक्नु रहेकाे बताए । उनले यस्ताे पीडा कसैलाई नपराेस् भन्ने कामना गरे । उनले दुवै परिवारकाे सल्लाहमा पार्वतीलै अध्ययन शुरूआत गरेकाे विद्यालयमा अक्षयकोष स्थापना गरिएकाे बताए ।
पार्वतीका पति शम्भु अधिकारीले पत्नीकाे देहावसान भएकाे दुई महिना भएकाे र याे समय कटाउन आफूलाई निकै कठिन भएकाे बताए । उनले शाेकलाई शक्तिमा बदलेर अघि बढ्ने प्रयास गरिरहेकाे बताए । उनले भने, पार्वतीकाे भाैतिक शरीर नभए पनि उनलाई अमर बनाउन अक्षयकोष स्थापना गर्ने साेच आएकाे र उनैले कखरा सिकेकाे विद्यालय राेजिएकाे हाे ।
कार्यक्रममा रिमाविका प्रधानाध्यापक रामचन्द्र सिटाैला, भीमाेदय माविका सहायक प्रधानाध्यापक, पार्वतीका जेठाजु बलराम अधिकारीलगायतले पार्वतीकाे सम्झना गरेका थिए । धादिङकाे गाेलाङ जन्म, सिद्धलेक-२ नलाङ कर्मघर भएकी पार्वतीले पाेखरालाई कर्मथलाे बनाउँदै आएकी थिइन् । उनकाे ३७ वर्षको उमेरमा गत माघ १६ गते पाेखरामा निधन भएकाे थियाे ।








