पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाठौंको बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरेको हो ।
शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् ।
उच्चको आदेशसँगै यसअघि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ ।
यसैबीच आफूमाथि ठूलो अन्याय भएको गुनासो गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो दुःखेसो गरेका हुन् । अदालतको आदेशको सम्मान गर्ने उल्लेख गर्दै उनले आफूले आजै गिरफ्तारी दिन लागेको समेत उल्लेख गरेका थिए ।
उनले लेखेका थिए, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदै छु। साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु । म माथि ठूलो अन्याय भएको छ ।’






