पोखरा । पोखरामा हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।
कोटीहोम आगामी वैशाख १७ देखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा कोटीहोम हुनेछ ।
कोटीहोमको सबै तयारी अन्तिम चरणमा पुगेको फाउण्डेशनले जनाएको छ । आयोजक मानवसेवा फाउण्डेशनले तयारी तीव्ररुपमा अघि बढाइएको र करिब अन्तिम चरणमा पुगेको जनाएको छ ।
कोटी होममा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको छ ।
सो अवसरमा राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, ११ हजार कलश पुजन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पुजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरिने भएको छ ।
कोटीहोम सम्पन्न गर्न आठ समितिसमेत गठन गरेको छ । जसमा मार्गनिर्देशन मण्डल, प्रमुख संरक्षक समिति, वरिष्ठ संरक्षक समिति, वरिष्ठ सल्लाहकार समिति, सल्लाहकार समिति, मूल आयोजक समिति र कानूनी सल्लाहकार समित छन् ।
साथै पाँच हजार एक सय एक महायज्ञ मूल आयोजक समिति गठन गरिएको बालयोगेश्वर विजय कृष्णमूर्तिले जानकारी दिए । संयोजक, उपसंयोजक, वरिष्ठ सदस्य, विशेष सदस्य र सदस्य समावेश छन् ।
कोटीहोममा सुश्री अनुराधा पाण्डेय, देवी प्रतिभाजी, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतले कथावाचन गर्नेछन् ।
४१ दिनसम्म निरन्तर हवन हुने भएकाले भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डलगायतका सामग्री लिएर आउन अनुरोध गरिएको छ । कोटीहोम स्थलमा वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण गरिने फाउण्डेशनले जनाएको छ ।
फाउण्डेशनद्वारा आयोजित संकल्प सभामा कोटीहोमलाई सफल बनाउन सहयोग गरिदिन आग्रह गरेको छ । सभामा विभिन्न व्यक्तिले कोटीहोमलाई सहयोग राशिकोसमेत घोषणा गरेका छन् ।
ती सहयोगदातालाई सम्मान गर्दै आयोजकले उनीहरुप्रति कृतज्ञता व्यक्त गरेको छ । सभाकै अवसरमा कोटीहोम पूर्वका विविध कार्यक्रमको घोषणा पनि गरेको छ ।
संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्तिले कोटीहोमको उद्देश्य राष्ट्र शान्ति, विश्व कल्याण एवं शान्ति तथा समृद्धि रहेको बताए । उनले गण्डकी क्षेत्रको महिमा र धार्मिक परिचयलाई पनि उजागर गरे ।

महायज्ञ अवधिभर हुने विविध कार्यक्रमको बारेमा जानकारी दिदै ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकी क्षेत्र र धार्मिक दृष्टिकोणमा यसकने महत्व,यज्ञको महिमा, हवनको महिमा,कोटिहोम महायज्ञको उद्देश्यलगायतको विषयमा जानकारी दिएका थिए ।
त्यसको साथै कोटिहोम महायज्ञमा संकलन भएको रकमले खर्च व्यवस्थापन भएर शेष रहेको रकमबाट पोखरा-१७ स्थित हरिहर मन्दिर,मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासका लागि पहल गर्नेलगायतको बिषयमा पनि जानकारी दिए ।
गण्डकी कोटीहोम संकल्प सभामा प्रस्तुत कोटिहोम विचार






