पोखरा, चैत ३० – पोखरा-११ काँहुस्थित श्री धारापानी सामुदायिक वन उपभोक्ता समूहको ३२ औं वार्षिक साधारण सभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। वन संरक्षण, पर्यटकीय सम्भावना र आर्थिक पारदर्शिता जस्ता विषयमा विशेष छलफल भएको यस सभामा विभिन्न संघ-संस्था, स्थानीय जनप्रतिनिधि र उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य विष्णु प्रसाद घिमिरे थिए भने विशेष अतिथिका रुपमा धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष समाजसेवी रुद्र कुमारी गुरुङ (मैना) उपस्थित थिइन्। संघसंस्थामा आवद्ध अध्यक्षहरू, वर्तमान पदाधिकारीहरू तथा उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा अध्यक्षले अतिथिहरूलाई स्वागत गर्दै दिवंगत अग्रजप्रति श्रद्धाञ्जली व्यक्त गरे।
२०५० सालमा स्थापना भएको धारापानी सामुदायिक वन कास्की जिल्लामा नमुना सामुदायिक वनका रूपमा परिचित छ। यसले कास्कीमा प्रथम र द्वितीय पुरस्कार जित्दै आफ्नो उत्कृष्टता प्रमाणित गरिसकेको छ। २६ हेक्टर क्षेत्रमा फैलिएको यस वनले वन्यजन्तु, वनस्पति र जैविक विविधताको संरक्षणमा सशक्त भूमिका खेल्दै आएको छ।
धारापानी सामुदायिक वन भित्र ऐतिहासिक काँहूकोट देउराली मन्दिर, जगदम्बा मन्दिर, काँहू धरहरा लगायतका पर्यटकीय स्थल रहेका छन्। यहाँबाट पोखराको सहर, हिमश्रृङ्खला र राष्ट्रिय फूल लालिगुराँसको दृश्य सहजै अवलोकन गर्न सकिन्छ।
सिमाना पूर्वमा लिला बहादुर/कर्ण बहादुर गुरुङको आवादी, पश्चिममा देवदत्त आचार्य, उत्तरमा काँहू धरहरा हुँदै देविको मन्दिर, र दक्षिणमा टुने पानीको भिर, धारापानी, बत्तासे चौतारो सम्म फैलिएको छ। हाल ९८ घरधुरी उपभोक्ताहरू यस वनमा आवद्ध छन्।
वन संरक्षणका लागि नमुना अग्नि रेखा निर्माण गरी डढेलोबाट हुने क्षति रोक्न सकिएको समूहले जनाएको छ। साथै, डिभिजन वन कार्यालय कास्कीको सहकार्यमा मोसो बास परीक्षण योजनाको तयारी भइरहेको छ। पोखरी, चौतारा, वनभोज स्थल तथा पार्कहरूको संरक्षणसँगै आय आर्जन बढाउने लक्ष्य रहेको समेत जानकारी दिएको छ।
साविक यशोधरा पार्कमा २०७२ सालमा शुरु गरिएको परियोजना हालसम्म अपेक्षित रूपमा अघि बढ्न नसकेको समूहले जनाएको छ। त्यस क्षेत्रलाई वन वाटिका पार्कको रूपमा विकास गर्न नयाँ कार्ययोजना अघि सार्ने तयारी भइरहेको छ।
हाल काठ, दाउरा, घाँस, पत्कर तथा कृषि औजारहरूमा कमी आएको हुँदा उपभोक्ताहरू वन पैदावारसँग नजिक हुन सकेका छैनन्। चोरी, सिकारी, फडानीजस्ता समस्या न्यून भए पनि डढेलो र अतिक्रमण नयाँ चुनौती बनेका छन्।
नेपाल सरकारको आर्थिक विधेयक २०८० अनुसार संस्थागत पारदर्शिता अनिवार्य भएपछि, समूहले २०८१ फागुन २९ गते स्थायी लेखा नम्बर (PAN) ६२२६६१४३० लिएको हो । यो कदमले समूहको संस्थागत सुदृढीकरण र विश्वसनीयता थप बलियो बनाउने अपेक्षा गरिएको छ।
श्री धारापानी सामुदायिक वन उपभोक्ता समूहले विगत ३२ वर्षमा वन संरक्षण, पर्यावरणीय सचेतना, सामुदायिक सहभागिता र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याएको छ। पर्यटकीय सम्भावनाको पहिचान गर्दै भविष्यमा थप योजनाहरू कार्यान्वयन गरिने बताइएको छ।
सामुदायिक वनलाई नाफा मात्र होइन, प्रकृति, पहिचान र भविष्यसँग जोड्ने सम्पदा ठान्दै अगाडि बढ्ने धारापानी समूहको यो यात्राले देशभरिका सामुदायिक वनलाई नयाँ प्रेरणा समेत समुह ले जानकारी दिएको छ ।






