सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ ।
शनिवार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फोटो पत्रकारहरुको महत्वलाई राज्यले क्रमशः चिन्ने कामहरु गरेको भएपनि फोटो पत्रकारिताको विकासमा रहेका व्यवधानहरु हटाएर अघि बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले फोटो पत्रकारिता जिउँदो इतिहास भएको उल्लेख गर्दै समाजको चित्रणलाई यथार्थमा उतार्नसक्ने र यथार्थबाट भविष्यलाई देखाउनसक्ने कुरा नै फोटो पत्रकारिता भएको बताउनु भयो ।
सभामुख घिमिरेले भन्नुभयो, ‘एक सेकेण्डमा गलत कुराको भ्रम सिर्जना गर्न सकिने कुरा छ । तर फोटो पत्रकारिताले त्यस्ता खालका कुराहरुको काउण्टरमा सधैँभर ठिङ्ग उभिएर आफ्नो परिचय दिनसक्ने र त्यो बेला के भएको थियो भन्नेकुराको जिउँदो इतिहासलाई लामो समय मात्र होइन, शताब्दीसम्म राख्नसक्ने र जिम्मेवारपूर्ण क्षेत्रबाट एउटै फोटोबाट अनेक कुरा व्यक्त गर्न सकिने र समाजको चित्रणलाई यथार्थमा उतार्नसक्ने र यथार्थबाट भविष्यलाई देखाउनसक्ने, विगतबाट भविष्यमा जाने बाटोहरु के थिए भन्नेकुरा देखाउनसक्ने धेरै महत्वपूर्ण कामहरु गर्नसक्छ । पत्रकारहरु क्यामेराको पछि पछि दौडिएर फोटो खिच्ने कुराले देशको चित्रणलाई राख्ने, घटनालाई जीवित र सधैँ स्मृतिमा राख्ने गर्दछ । फोटो पत्रकारहरुको महत्वलाई राज्यले क्रमशः चिन्ने कामहरु गरेको छ । त्यस हिसावमा विकास गर्ने कुरामा जुन व्यवधानहरु रहेका छन्, ति अभाव पूर्ति गर्दै यस क्षेत्रमा प्रेरित गर्दै अघि लैजानुपर्छ ।
सभामुख घिमिरेले पत्रकारिताको महत्व बुझेर नेपालमा लोकतान्त्रिक गणतन्त्रको घोषणा पश्चाद् मात्रै उपयोग गरिएको बताउनु भयो । मिडियाको महत्व नबुझ्ने समाजबाट अहिले फोटो पत्रकारिताको महत्व बुझ्ने ठाउँमा आइपुगेको बताउनु भयो ।






