राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी मुलुकमा भ्रष्टाचार बढेकै कारण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि कालो बादल मडारिएको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको उहाँको भनाइ छ । उहाँले गणतन्त्रवादी दलहरु भ्रष्टाचारमा लिप्त हुँदा प्रतिगामीहरुले गणतन्त्र, लोकतन्त्र उल्ट्याउने र राजतन्त्र भएपछि मुलुक स्वर्ग हुन्छ भन्ने झुटको खेति गरिरहेको बताउनु भयो । उहाँले मुलुक र व्यवस्था जोगाउनको लागि आम नागरिक सचेत हुन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिदे देशमा भ्रष्टाचार चरमचुलीमा पुगेको छ । एउटा विमानस्थल बनाउँदा १० अर्ब लुट्ने भनेपछि त त्यो बाहिरकाले खाएको छ ? विदेशीहरुले आएर खाएको छ ? शिक्षकहरुको समस्या त्यस्तै छ । तैपनि अहिलेको स्थितिमा गणतन्त्र, लोकतन्त्र र धर्म निरपेक्षतामाथि जुन खालको कालो बादल मडारिएको छ । त्यसका बारेमा सबै राजनीतिक पार्टीहरु खासगरेर लोकतन्त्र र गणतन्त्रवादीहरु सचेत हुनुपर्छ । अहिलेको परिस्थिति भनेको घुस खाने, भ्रष्टाचार गर्ने, राष्ट्रघात गरेर प्रतिगामीहरुलाई गणतन्त्र, लोकतन्त्र उल्ट्याउने र राजतन्त्र भएपछि मुलुक स्वर्ग हुन्छ भन्ने झुटको खेति जुन भइरहेको छ । यसमा नेपाली जनता सतर्क हुनुपर्छ ।’
उहाँले व्यवस्थाको रक्षा र सुदृढिकरणका लागि लोकतान्त्रिक दलहरु एकजुट हुन आवश्यक रहेको बताउनु भयो ।






