संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको उडड्यन क्षेत्रमा व्यापक सुधारको आवश्यकता रहेको उल्लेख गर्दै त्यसको लागि आवश्यक ऐनहरु बनाउने गृहकार्यमा सरकार रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक’माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । सरकार हवाई नीति परिवर्तन गर्ने तयारीमा रहेको उहाँको भनाइ छ । उहाँले अन्तर्राष्ट्रिय यात्रुहरुले प्राप्त गर्ने बीमा र आन्तरिक यात्रुहरुले प्राप्त गर्ने बीमामा ठुलो अन्तर रहेको उल्लेख गर्दै त्यसको समायोजन र पुनरावलोकन गर्न ऐन बनाउने तयारीमा जुटेको समेत बताउनु भयो । उहाँले हवाई दुर्घटना जाँचबुँझसँग सम्बन्धित स्थायी प्रकारको ऐन आवश्यक रहेको उल्लेख गर्दै त्यसको मस्यौदा लेख्ने काम केही दिनमा सुरु गरिने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी हवाई नीति परिवर्तनको पनि तयारीमा छौं । त्यसैगरी उड्डयनसम्बन्धी छाता ऐनको रुपमा हवाई ऐनको मस्यौदाको काम अगाडि बढेको छ । अरुपनि थुप्रै त्यस्ता ऐनहरु बनाउनुपर्नेछ । अन्तर्राष्ट्रिय यात्रुहरुले प्राप्त गर्ने बीमा र आन्तरिक यात्रुहरुले प्राप्त गर्ने बीमामा ठुलो अन्तर छ । त्यसको समायोजन र पुनरावलोकन गर्नुपर्ने सम्बन्धमा पनि हामी ऐन बनाउने तयारी गरिरहेका छौं । हामी हवाई दुर्घटना जाँचबुँझसँग सम्बन्धित स्थायी प्रकारको ऐन चाहिएको हुनाले त्यससँग सम्बन्धी ऐनको मस्यौदा तयार गर्ने तयारीमा पनि हामी छौं।
उहाँले पोखरा र गौतमबुद्ध विमानस्थल नियमित रुपमा सञ्चालन गर्न समेत सरकार लागिपरेको उल्लेख गर्नुभयो ।






