पोखरा, जनताले विश्वास गरेर चुनेका जनप्रतिनिधिबाटै हातपात, दादागिरी र मादक पदार्थ सेवनसँगै सार्वजनिक अपमान? पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुली मंगलबार एकै दिन दुई फरक व्यक्तिमाथि कुटपिट गरेपछि अब जनतामाझ प्रश्न उठेको छ — के अब प्रतिनिधिबाटै असुरक्षा महसुस गर्नुपर्ने हो?
“गोरुले जोत्न नजान्ने, हलोको दोष”
नेतृत्वको जिम्मेवारी बोक्न नसक्नेले गल्ती आफ्नै व्यवहारमा खोज्नुको सट्टा अरूलाई दोष थोपर्ने प्रवृत्तिले पोखरा–४ का जनतामा आक्रोश र असन्तोष थपिएको छ।
वडाध्यक्ष पराजुलीले बिहान महानगरपालिका प्रशासन शाखामा कार्यरत अधिकृत ईश्वरीप्रसाद पोखरेलमाथि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै हातपात गरेका हुन्।
तालिमको विषयमा सामान्य सोधपुछ भइरहेका बेला उनी आक्रोशित भई अचानक पोखरेलको कठालो समात्दै लछारपछार गर्न थालेका थिए।
एक कर्मचारीले भने, “प्रमुख प्रशासकीय अधिकृतको बोलावटमा कार्यकक्ष पुगेका पोखरेलमाथि वडाध्यक्षले आक्रोशपूर्वक हातपात गरे। यस्तो दृश्य सार्वजनिक सेवामा अकल्पनीय हो।”
सर्वेश्वर मार्गमा व्यवसायीमाथि आक्रमण
महानगरबाट फर्किएपछि दिउँसो, पराजुली सर्वेश्वर मार्गतर्फ महानगर प्रहरीसहित पुगे। फुटपाथबाट सामग्री उठाउने क्रममा सुवेदी कस्मेटिक्सका सञ्चालक लेखनाथ सुवेदीसँग विवाद भयो। सुवेदीका अनुसार, ग्राहकको सामान परेकाले त्यसबारे जानकारी दिन खोज्दा वडाध्यक्षले एक्कासी हात हालेर कुटपिट गरे।
“मैले केवल भनें — त्यो सामान ग्राहकको हुन सक्छ, कृपया बुझिदिनुस्,” सुवेदी भन्छन्, “तर उहाँ ममाथि एक्कासी आक्रमणमा उत्रिनुभयो। उहाँले मादक पदार्थ सेवन गरेको जस्तो देखिन्थ्यो।”
पीडित व्यवसायी सुवेदीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका छन्। तर उनले आरोप लगाएका छन् — “जाहेरी अहिलेसम्म दर्ता भएको छैन। सोर्सफोर्सको चलखेल हुनसक्छ।”
“हामी जनप्रतिनिधिबाटै असुरक्षित महसुस गरिरहेका छौं,” सुवेदी भन्छन्, “उहाँले मत माग्दा हामीले भरोसा गरेर जितायौं, आज उही व्यक्तिबाट अपमानित भयौं।”
व्यवसायी कुटपिटको खबर बाहिरिएपछि सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यापारीहरू आक्रोशित भएका छन्। उनीहरूको साझा संस्था ‘सर्वेश्वर व्यवसायी समिति’ले वडाध्यक्ष पराजुलीलाई तत्काल नियन्त्रणमा लिन र कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै वडा कार्यालय र प्रहरी कार्यालयमा घेराउ गरेका छन्।
समितिका अध्यक्ष तुलबहादुर थापा (राजन) भन्छन्, “रक्षक नै भक्षक भएपछि जनताले आशा गर्ने आधार के बाँकी रहन्छ? पराजुलीलाई तुरुन्त कारबाही गरिनुपर्छ।” वडाध्यक्ष पराजुलीले आफूले कुटपिट गरेको कुरा अस्वीकार गरेका छन्। तर उनले आफूले पहिला आक्रमण नगरेको दाबी गर्दै भने, “उनीहरूले औंला ठड्याउँदै देखाउने भाषा प्रयोग गरेपछि म प्रतिकार गर्न बाध्य भएँ।”तर स्थानीय बासिन्दाहरू यो दाबीमा सहमत छैनन्। उनीहरूको भनाइमा — “प्रतिनिधिले संयम गुमाए भने शासनमा अराजकता फैलन्छ।”
सत्ताको घमण्ड कि नेतृत्वको असक्षमता?
यो घटनाले दुईवटा यथार्थ उजागर गरेको छ —
राजनीतिक पदमा बसेर पनि व्यवहारमा संयमता नराख्ने नेतृत्वले कानुनभन्दा माथि ठान्न थालेको छ।
प्रशासनमाथि राजनीतिक हस्तक्षेप अझै गहिरिँदो छ, जहाँ प्रहरी उजुरी दर्ता गर्न पनि हिच्किचाइरहेका छन्।
अर्को तर्फ वडा अध्यक्ष देबकृष्ण
मेरो परिवार हो मैले केहि गरेको छैन मलाई खासै थाहा छैन। पोखरा-४ मेरो परिवार हो।
कुटाई खाने कर्मचारी इश्वर
म बोल्दैन सर मलाई बोल्न नि आउदैन जनप्रतिनिधि भोट ले जितेर आएका हुन् मैले भन्ने ठाउमा जानकारी गराएको छु। रक्सीको मातमा कुटाई खाए मेयर र उपमेयर सबै ठाउमा जानकारी गरेको छु। सर मा बोल्न आउदैन।
हुन त उखान नै छ — “गोरुले जोत्न नजान्ने, हलोको दोष”।
नेतृत्व चलाउन नसक्ने व्यक्ति सधैं दोष अरूलाई दिँदै उम्किने प्रयास गर्छन्। तर जनताले भने भुल्दैनन् — न कुटपिट, न अपमान, न असुरक्षा।
पोखराको यो घटना केवल एक वडाध्यक्षको व्यक्तिगत आवेग होइन।
यो हाम्रो स्थानीय शासनमा पसेको अनुशासनको खडेरी र सत्ताको अहंकारको प्रतिविम्ब हो। जब नेतृत्व जनताको सेवा होइन, शक्ति प्रदर्शनको माध्यम बन्छ, तब लोकतन्त्र प्रश्नचिन्हमा पुग्छ।
अब जिम्मा जनताकै हो —सुधार माग्ने कि सहेर बस्ने?
प्रतिनिधि जाँच्ने कि उनीहरूकै डरले चुप बस्ने?
किनकि आजको घटना केवल पोखराको होइन — यो देशभर फैलिएको ‘गोरुले जोत्न नजान्ने, हलोको दोष’ प्रवृत्तिको संकेत हो।






