तनहुँ । नेपाल फोटो पत्रकार समूहले प्रमुख पर्यटकीय गन्तव्य तनहुँको बन्दीपुरमा फोटो यात्रा अभियान शुरु गरेको छ ।
शनिबार आयोजना गरिएको ‘बन्दीपुरको पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममार्फत अभियानको शुरुवात गरिएको हो।
कार्यक्रममा फोटो पत्रकारले तस्बिर र भिडियोको माध्यमबाट बन्दीपुरको प्रचारप्रसारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
समूहका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले बन्दीपुरको सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई देश तथा विदेशमा प्रवर्द्धन गर्ने लक्ष्यसहित पत्रकारलाई बारम्बार यहाँको ताजा तस्बिर संकलन गर्न आग्रह गरे ।
उनले बन्दीपुरजस्तो मौलिक तथा ऐतिहासिक शहरको सौन्दर्यले सञ्चारमाध्यममा विशिष्ट स्थान पाउने भएकाले निरन्तर फोटो अभियान आवश्यक रहेको बताए।
समूहका कास्की शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठले बन्दीपुरको सौन्दर्य प्रवद्र्धनमा फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । सञ्चारकर्मीको सक्रियताले बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सफल बनाउन मद्दत पुग्ने उनको विश्वास छ ।
बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैंशबहादुर गुरुङले फोटो पत्रकार समूहको अभियानले भ्रमण वर्ष सफलतामा थप ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।
उनले भने, “बन्दीपुरको प्रवर्द्धनका लागि सञ्चारकर्मी र फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ, तस्बिरले भावनालाई बोलाउँछ र बन्दीपुरको मौलिकता, संस्कृति र प्राकृतिक सौन्दर्यलाई तस्बिरमार्फत संसारभर पुर्याउने अभियानलाई हामी स्वागत गर्छौं ।”
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सञ्चारमाध्यममा फोटो तथा भिडियोको प्रकाशन÷प्रसारणले पर्यटकलाई आकर्षित गर्ने भन्दै यस अभियानले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
उनले बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सफल बनाउन प्रचारप्रसार अझ सशक्त ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए ।
समूहका तनहुँ अध्यक्ष विष्णु गौतमका अनुसार कार्यक्रममा तनहुँ र कास्कीका गरी २८ जना फोटो पत्रकार सहभागी छन् ।












