पोखरा । राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा शुरु हुँदैछ । दुई दिनसम्म चल्ने महाधिवेशनको सबै तयारी पूरा भएको छ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
महाधिवेशन उद्घाटन अम्मरसिंह चौरमा हुने भए पनि बन्दसत्र पोखरा सभागृह हलमा हुने एमाले केन्द्रीय सदस्य तथा युवा संघ नेपालका इञ्चार्ज राजीव पहारीले जानकारी दिए ।
महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी, जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, युवा संघका नेपालका पूर्व अध्यक्ष महेश बस्नेतलगायत सहभागी हुनेछन् ।
राष्ट्रिय युवा संघ नेपालका महासचिव सुमन पुरीले महाधिवेशनमा देशभरीका दुई हजार प्रतिनिधि सहभागी हुने जानकारी दिए ।
यसैबीच युवा संघको भावी नेतृत्वका लागि पाँच जनाभन्दा बढी प्रत्यासी देखिएका छन् । वर्तमान अध्यक्ष क्षितिज थेवे पुनः दोहोरिने चर्चा छ । साथै वर्तमान उपाध्यक्ष कृष्णहरि केसी, महाराज गुरुङ र प्रकाश गौतम तथा महासचिव सुमन पुरीले अध्यक्षका लागि दौडधूप शुरु गरिसकेका छन् ।
यस्तै महासचिवमा हालका सचिव निरोज पौडेल, कुवेर अधिकारी, विनय शाह, खेम शर्मा, महेश चौलागाईं, पर्वत भण्डारीलगायत आकांक्षी छन् ।
अहिले राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी तीन सय ३९ सदस्यीय भए पनि अबको केन्द्रीय कमिटी एक सय ५१ सदस्यीय हुनेछ ।
यसैबीच राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनबाट हुने नेतृत्व छनोट प्रक्रिया सर्वसम्मत गर्ने प्रयास थालिएको छ ।
सोही प्रयासस्वरुप पोखरामा एमाले नेताहरू भानुभक्त ढकाल, महेश बस्नेत, किरण पौडेललगायतका नेताहरूसहितको उपस्थितिमा बिहीबार साँझ युवा संघको पदाधिकारी बैठक बसेको छ ।
नेतृत्व सर्वसम्मत गराउनेगरी बैठकमा छलफल भएको बताइएको छ ।






