पोखरा । पोखराका व्यवसायी शान्ती श्रेष्ठ उदासलाई अमेरिकाको प्रतिष्ठित दि इन्टरनेशनल अवार्ड फोरमले ‘ग्लोबल एक्सेलेन्स इन लिडरसिप अवार्ड’ प्रदान गरेको छ ।
सिंगापुरमा आयोजित एक कार्यक्रमका बीच उदासलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
फोरमले विश्वका विभिन्न देशका उद्यमी एवं समाजसेवीलाई उनीहरुको कामको प्रभावकारिताको आधारमा पुरस्कृत गर्दै आएको छ ।
उदास पोखराको नदीपुरस्थित सृष्टि क्रियशनको अध्यक्षसमेत हुन् । उक्त संस्थाले महिला तथा युवाको सीप र व्यावसायिक दक्षता अभिवृद्धिका लागि काम गर्दै आएको छ ।
उनले नेवा मिसा पुचका संस्थापक अध्यक्ष, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीको सचिव, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत महिला उद्यमी विकास समितिको केन्द्रीय कार्यसमितिमा रहेर काम गरेकी छन् ।
उनी कास्की मोडल हस्पिटलका निर्देशक, कास्की फाइनान्सका पूर्व डाइरेक्टर र आल्मोण्डस क्याफेका सञ्चालक हुन् ।






