नेपाली काँग्रेसकी सांसद रुक्मिणी कोईरालाले संविधान कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक कानुनहरू तत्काल निर्माण र कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद कोईरालाले सङ्घ, प्रदेश र स्थानीय तहबिच अधिकारको स्पष्ट विभाजनसहित ऐन कानूनहरू निर्माण गरी तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
उहाँले सङ्घले प्रदेश सरकार र प्रदेशले स्थानीय तहमा अधिकार प्रत्यायोजन गर्न जरुरी रहेको समेत बताउनु भयो ।
ऐन बनाउँदा तीन वटै तहसँग नबाझिने गरी सावधानीपूर्वक निर्माण गर्नुपर्नेमा उहाँको जोड छ ।
उहाँले वित्तीय समानीकरण र राजश्व बाँडफाँडसम्बन्धी स्पष्ट र समान कानून आवश्यक रहेको बताउँदै कोईरालाले मालपोत र नापीसम्बन्धी सेवामा जनआक्रोश बढिरहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनहरू छिटोभन्दा छिटो बनाएर कार्यान्वयन गर्नुपर्ने, सबै ऐन छिटो बनाएर प्रदेश र स्थानीय तहलाई प्रत्यायोजित गर्नुपर्ने, प्रदेश सरकारले समेत स्थानीय तहलाई अधिकार दिनुपर्छ । कानून बनाउँदा सङ्घ, प्रदेश र स्थानीय तहसँग नबाझिने गरी बनाउनुपर्छ । वित्तीय समानीकरण, राजश्व बाँडफाँट समानीकरण हुने गरी कानुन बनाउनुपर्छ । मालपोत र नापीसम्बन्धी जनता आक्रोशित छन् । छिटो छिटो कानुन बनाएर काम गर्नुपर्छ । मेलमिलाप समितिको समेत प्रस्ट कानुन बनाउनुपर्छ ।
’ सांसद कोईरालाले मेलमिलाप समितिको भुमिका स्पष्ट हुनेगरी पृथक कानून निर्माणको माग समेत गर्नुभयो ।






