पोखरा । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकारका अनावश्यक संरचनालाई हटाउने र सेवाप्रवाहलाई प्रभावकारी बनाउने विषयमा बजेट मौन रहेको टिप्पणी गर्नुभएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०८२÷८३ को बजेटबारे प्रतिक्रिया दिँदै सांसद महतले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले बजेट सरकारी संरचनाहरुलाई छिटो छरितो बनाउने कुरालाई सम्बोधन गर्न नसकेको बताउनु भयो । उहाँले स्थानीय मदिराको ब्राण्डिङ तथा व्यावसायीकरणको विषय समेत बजेटले सम्बोधन गर्न नसकेको बताउनु भयो । आफू अर्थमन्त्री भएको समयमा कार्यविधि समेत अगाडि बढिसकेको भएपनि अगामी आर्थिक वर्षको बजेटमा स्थानीय मदिरा ब्राण्डिङको विषयमा मौन रहेको उहाँको टिप्पणी छ । उहाँले भन्नुभयो, ‘बजेट सरकारी संरचनाहरुलाई छिटो छरितो बनाउने र अनावश्यक संरचनाहरु हटाउने कुरामा बजेट मौन छ । जाँडलाई ब्राण्डिङ गर्ने कुरा मैले पनि बजेटमा बोलेको थिए । त्यो कार्यविधि अगाडि पनि बढेको थियो । यसपटकको बजेट त्यसमा पनि मौन छ । सम्रगमा विनियोजनको विधेयक प्राप्त भएपछि परिणामुखी कति छ भन्नेकुरा आउँछ । ’
उहाँले वितरणमुखी योजना हटाउन तीनभन्दा तलका योजनाहरु नराख्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउनु भयो ।






