पोखरा । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर मृत्यु भएका एक्साभेटर चालक ३२ वर्षीय खेमराज कुमालको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ ।
मृतकका परिवारलाई २४ लाख ३० हजार रुपैयाँ क्षतिपूर्ति दिने समझ्दारी भएको अपरेटर संघ कास्कीका अध्यक्ष किशोरप्रसाद गौतमले जानकारी दिए ।
गौतमका अनुसार यही जेठ १३ गते निर्माणाधीन दरखोला जलविद्युत आयोजनाको मोटर बाटो खन्ने क्रममा ढुङ्गा माटोसहितको सुख्खा पहिरो खसेर एक्साभेटरसहित चालक कुमालको घटनास्थलमा ज्यान गएको थियो । कुमाल स्याङ्जा निवासी हुन् ।
समाजवादी ट्रेड युनियन महासङ्घ नेपाल गण्डकी प्रदेश सुशील वाग्ले तथा नेपाल हेभी इक्युप्मेन्ट अपरेटर संघ गण्डकी प्रदेश प्रेम थापा अपरेटर संघ कास्की, अपरेट संघ म्यादी, अपरेटर संघ स्याङ्जाको उपस्थितिमा दरखोला हाइड्रोपावर साथै रोजिना एन्ड रोशन कन्ट्रक्सन र मृतकका परिवारबीच सो सहमति भएको हो ।
यसैगरी बीमा बाहेकको सबै रकम हस्तान्तरण पनि भएको अपरेटर संघ गण्डकी प्रदेशका महासचिव एवं अपरेटर संघ म्याग्दीका अध्यक्ष देवेन्द्र चोखालले जानकारी दिए ।






