पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीकी मोनिका पौडेल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पोखरा महानगर समितिद्वारा आयोजित वक्तृत्वकलामा प्रथम भएकी छन् ।
युनियनले ६१औँ स्थापना दिवसको अवसर पारेर ‘सिपमा आधारित शिक्षा, वैदेशिक पलायन रोक्ने उपाय’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा पौडेलसहित २१ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।
विद्यालयका शिक्षक फणीन्द्रराज पौडेलका अनुसार वक्तृत्वकलामा पौडेलले निकै दमदार प्रस्तुति दिएकी थिइन् ।
पौडेलले पोखरामा जारी गण्डकी कोटीहोममा आयोजित वक्तृत्वकलामा समेत सहभागिता जनाएकी थिइन् ।
विद्यालयका प्राचार्य बयानबहादुर गोदारले पौडेलले वक्तृत्वकलामा प्रथम स्थान हासिल गरेर विद्यालयको गरिमा उँचो बनाएको बताए ।
उनले पौडेलको आगामी शैक्षिक यात्रा अझ सफल र उज्ज्वल होस् भन्दै शुभकामना दिए ।






