पोखरा । पोखराको पर्यटक बसपार्कमा कालो प्लेटका सवारीसाधन राख्न नदिने निर्णयको विरोधमा पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडअन्तर्गतका व्यवसायीको आन्दाेलन जारी छ ।
आन्दोलनअन्तर्गत व्यवसायीले आज पर्यटक बसपार्कको गेटमा गाडी तेर्स्याएका थिए । जसका कारणले सो क्षेत्र अस्तव्यस्त बनेको थियो भने पर्यटक हिंडेरै गन्तव्यतर्फ लाग्न बाध्य भए ।
व्यवसायीले बिहीबार पोखरा उपत्यका नगर विकास समिति घेराउ गरेका थिए भने आइतबार पोखरा महानगरपालिकाको कार्यालय घेराउ गर्ने जनाएका छन् ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष योगेन्द्रबहादुर केसीले आन्दोलन गर्नु आफूहरुको बाध्यता भएको बताएका छन् ।
अध्यक्ष केसीले नीतिप्रेससँग भने, ‘हामीले पर्यटकका लागि सुविधासम्पन्न स्तरीय बस सञ्चालन गरेका छौँ, पोखरा महानगरपालिका र पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाले गरेको निर्णयले हामीलाई निकै दुखी बनाएको छ ।’
पर्यटकलाई दुःख दिने आफूहरुको कुनै मनसाय नभएको उनले स्पष्ट पारे ।
अध्यक्ष केसीले नीतिप्रेससँग भने, ‘पर्यटन क्षेत्र निकै सम्बेदनशील छ, हामीले यो कुरा राम्रोसँग बुझेका छौँ । तर राज्यका निकायले नै हामी व्यवसायीलाई उठिबास लगाउन खोजेपछि हामीसँग विकल्प के नै हुन्छ र ?’






