पोखरा । पोखरामा आयोजित श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञानमहायज्ञको मूल आयोजक समितिका सहसंयोजक गंगाधर पराजुलीले महायज्ञबाट संकलित रकमको सदुपयोग गर्न, महायज्ञमा संकलित रकम र खर्चको विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् ।
उनले पोखरामा आयोजित कोटीहोमको बारेमा भावी सन्ततिले समेत सहज रुपमा जानकारी पाउन सक्ने किसिमले कोटीहोम स्थलको संरक्षण र अभिलेखीकरण गर्न महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्रीकृष्ण मूर्तीजी महाराज, महायज्ञको आयोजनासहित ब्यवस्थापन गर्ने संस्था मानव सेवा फाउन्डेशनलाई आग्रह गरे ।
कोटीहोम बिराट ज्ञानमहायज्ञमा शुक्रबारसम्ममा करिब नौ करोड रुपैयाँ नगद र पोखरालगायत विभिन्न स्थानबाट करिब ४० रोपनी जग्गा दान स्वरूप प्राप्त भएको समारोहमा महायज्ञका संकल्पकर्ता महाराजले गराएका थिए । शनिबार संकलित रकम र केही व्यक्ति र संस्थाबाट प्रतिबद्दता गरिएको रकमसमेत गर्दा करिब १० करोड पुग्ने अनुमान आयोजकले गरेका छन् । साथै अन्य जिन्सीसामग्री समेत संकलन भएको मानव सेवा फाउन्डेसनले जनाएको छ
यसरी संकलित रकमसहित खर्चको विवरण सार्वजनिक गर्न, संकलित रकमको दुरुपयोग हुन नदिन र संकलित रकम पहिले प्रतिबद्दता गरिए अनुसारका काममा गर्नुपर्नेमा पराजुलीले जोड दिए ।
महायज्ञ समापनको दिन आयोजित विशेष धार्मिक सभामा आयोजक समितिको तर्फबाट बोल्दै सहसंयोजक पराजुलीले विषम परिस्थितिमा गरिएको कोटीहोममा ४० लाख भन्दा बढी सर्वसाधारण र भक्तजनको सहभागिता रहनु र करोडौं रुपैया नगदसहित करोडौं मूल्य पर्ने जग्गा दान स्वरूप प्राप्त हुनुलाई महायज्ञको अपार सफलताको रुपमा ब्याख्या गरे ।
उनले भने, “महायज्ञमा लाखौं सर्बसाधारण एवं भक्तजनको सहभागिता हुनु, करोडौं रुपैयासहित दर्जनौं रोपनी जग्गा दान हुनु र विभिन्न किसिमको जिन्सी सहयोग जुट्नु चानचुने कुरा हैन । यसले महायज्ञप्रति पोखरेलीसहित गण्डकी प्रदेशका बासिन्दाको अपार समर्थन रहेको पुष्टि हुन्छ । महायज्ञको पूर्ब निर्धारित स्थान परिवर्तन हुँदा, महायज्ञको प्रभावकारी ब्यवस्थापन गर्दा र विभिन्न किसिमका प्रतियोगिता र सम्मान जस्ता कार्यक्रमसहित महायज्ञ स्थलको साजसज्जा समेतका काममा मोटो रकम खर्च गरिएको महसुस मलाई पनि भएको छ । तर विषम र प्रतिकूल परिस्थितिमा आयोजना गरिएको महायज्ञबाट जे जति संकलन भयो, जे जति भक्तजनहरु आउनुभयो, यो नै ठूलो र महत्वपूर्ण कुरा हो भन्ने मलाई लागेको छ ।’
पराजुलीले आँफू सञ्चार र राजनीतिक क्षेत्रबाट समाजमा परिचित भए पनि यो महायज्ञमा सहभागी भएका कारण धार्मिक क्षेत्रमा समेत क्रियाशील रहने चाहना जागेको भन्दै उनले लाखौँ मानिसको सहभागितामा महिनौं दिन चलेको यस किसिमको कार्यक्रममा कुनै पनि अप्रिय घटना नहुनु सबै पोखरेलीको लागि सुखद पक्ष भएको स्पष्ट पारे ।
“पोखरा भ्रमण बर्षको घोषणा गर्न भनि आयोजना गरिएको छोटो समयको कार्यक्रममा बेलुन पड्किएर संघीय सरकारका मन्त्री र पोखरा महानगरका प्रमुखसमेत घाइते हुने गरी दुःखद् घटना भयो । तर लाखौँ भक्तजनको सहभागितामा महिनौँसम्म संचालन भएको कोटीहोम कार्यक्रम कुनै बिघ्नबाधा र दैबीविपत्ति बिना सहजतापूर्वक सम्पन्न हुन सक्यो । यो पोखरेलीका लागि गौरवको कुरामात्र नभएर भगवानको कृपासमेत हो भन्ने मलाई लागेको छ’ उनले भने ।
पोखरामा आयोजित कोटीहोम महायज्ञ ऐतिहासिक बनेको भन्दै महायज्ञका कारण धार्मिक सनातन धर्म र संस्कृति सम्बन्धमा धार्मिक जागरण र चेतना जागृत गर्ने, पोखरामा धार्मिक एबम अन्य पर्यटकहरुलाई भित्र्याउने गरि पोखराको प्रवर्द्धन भएको, जस्तोसुकै कठिन परिस्थितिमा पनि पोखरेली सर्बसाधारणको सहयोग र समर्थन प्राप्त हुन्छ भन्ने सन्देश फैलिएको उनले बताए ।
कोटीहोमले पोखराको आर्थिक गतिविधि चलायमान भएको र विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु र संघसंस्थाले सम्मानित भएको महसुस गर्नुका साथै वक्तृत्वकला र भजन प्रतियोगितासहित भजनकीर्तन र प्रवचनजस्ता कार्यक्रमका कारण थुप्रै व्यक्तित्वको प्रतिभा उजागर हुन पुगेको उनले स्पष्ट पारे ।
विधिसम्मत तरिकाले पोखरामा आयोजना हुने कार्यक्रममा पोखरेली संघसंस्था र सरकारको समेत सहयोग हुनुपर्ने खाँचो पनि सहसंयोजक पराजुलीले औंल्याए ।
उनले भने, ‘कोटीहोमको शुरुवातसंँगै अनेकन बजार हल्ला चलाइयो, महायज्ञ शुरु हुन सक्दैन, शुरु भए पनि कोही मान्छे वा भक्तजन आउँदैनन्, अनि महायज्ञको बिचमा नै आयोजक पोखरा छोडेर बाहिरिन्छन् र केही स्वार्थ पूरा गर्न चाहनेहरु मात्र आर्थिक लाभ लिएर महायज्ञको समितिमा बसेका छन् भन्ने जस्ता निकृष्ट बजार हल्लासमेत धेरैबाट चलाइयो । तर म स्पष्ट पार्न चाहन्छु, मसहित समितिमा रहने अधिकांश साथीहरुले पनि आफ्नो समय मात्र नभएर आर्थिक रुपमा महायज्ञलाई सहयोग गर्नुभएको छ ।’
उनले कोटीहोम पोखराको प्रवर्द्धन गर्न, सनातन धर्म र संस्कृति सम्बन्धि धार्मिक एवं आध्यात्मिक जागरण फैलाउन सहयोगी बन्ने महसुस भएकोले नै आफू आयोजक समितिमा जोडिएको स्पष्ट पारे ।
‘मैले महायज्ञ आयोजक समितिको जिम्मेवारी नलिंदा पनि नागरिक समाज, राजनीतिक दल र जनप्रतिनिधिसहित बिभिन्न क्षेत्रका व्यक्तित्व समक्ष यस किसिमको धार्मिक अनुष्ठानलाई विवादित बनाएर अबरोध गर्नु उपयुक्त नहुने बरु ब्यवस्थित र विधिसम्मत रुपमा गर्न लगाउनुपर्ने भन्ने धारणा राख्दै आएको थिएँ’, उनले भने, ‘शुरुवातमा महायज्ञको विरोध गर्नेहरु पनि पछिल्लो समय महायज्ञको सहयोगी बन्न पुगे । पोखरा महानगरपालिकाले पनि महायज्ञ संचालन भएपछि सहयोगी भूमिका निर्बाह गरेको र समयावधि थप गर्न सहज ढंगले अनुमति दियो, यो खुसीको कुरा हो ।’
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्णमुर्तीजी महाराजले महायज्ञमा संकलित रकम अनाथ बालबालिकाको आश्रम निर्माणसहित पोखराका केही धार्मिक स्थल र मठ मन्दिरको लागि पूर्व प्रतिवद्दता अनुसार नै खर्च गरिने स्पष्ट पारे ।
महायज्ञमा केही दाताहरुले प्रतिवद्दता गरे अनुसारको रकम संकलन हुन बाँकी रहेको र खर्चको पनि सम्पूर्ण विवरण आउन बाँकी रहेकोले असार महिनासम्ममा कोटीहोम महायज्ञको आम्दानी खर्चको विवरण सार्बजनिक गरिने उनले सुनाए । संकलित रकमको दुरुपयोग हुनेमा शंका नगर्न आग्रह गर्दै उनले पूर्व प्रतिबद्दता अनुसार नै रकम खर्च हुने स्पष्ट पारे ।
उनले महायज्ञमा सहयोग र समर्थन गर्ने पोखरेलीसहित सबैप्रति आभार प्रकट गर्दै नेपाल र बाहिरबाट धर्मगुरु र प्रशिद्द कथावाचक आएर प्रवचन र आशिर्वचन दिएको मात्र नभएर एक सय वटा कुण्डमा गरिएको करोडौं हवनसहित अन्य धार्मिक अनुष्ठानबाट हजारौँ पोखरेली लाभान्वित बनेको बताए । आगामी दिनमा देशका अन्य स्थानमा हुने महायज्ञमा पनि सबैको सहयोग र समर्थनको उनले अपेक्षा गरे ।






