पोखरा । पहिलो खेलमा तेस्रो सुपर ओभरमा भोगेको हारको बदला लिँदै नेपालले नेदरल्याण्डससँगैको दोस्रो खेलमा छ विकेटको शानदार जित हासिल गरेको छ।
बिहीबार राति सम्पन्न खेलमा कुशल भुर्तेलको अर्धशतक मदतमा नेपालले नेदरल्याण्ड्समाथि शानदार जित हासिल गरेको हो । योसँगै नेपालले स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा दोस्रो जित हासिल गर्न सफल भएको छ ।
नेदरल्याण्ड्सले दिएको एक सय ७५ रनको लक्ष्य नेपालले १९दशमलव४ ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए । यस्तै आरिफ शेखले ३९, भीम सार्कीले २७ रन बनाए ।
नेदरल्याण्ड्सका बेन फ्लेचर, आर्यन दत्त, रोलफ भान डर मर्वे र जाच लायन काचेटले एक-एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा सात विकेट गुमाएर एक सय ७४ रन बनाउन सफल भयो । योसँगै नेपालले एक सय ७५ रनको लक्ष्य पायो ।
नेदरल्याण्ड्सका लागि ओपनिङ ब्याटर माइकल लेभिटले ८६ रनको आक्रमक पारी खेलेका थिए । त्यस्तै भेट्रान अलराउण्डर रोलफ भान डर मर्वेले ३६ रनको अविजित पारी खेले ।
नेदरल्याण्ड्सका लागि लेभिटले एकतर्फी रूपमा आक्रमण गर्दै साकिब जुल्फिकरसँग मिलेर ६३ रनको साझेदारी गरे । भान डर मर्वेले आर्यन दत्तसँग मिलेर ४५ रनको साझेदारी गर्दै टिमको स्कोर एक सय ७४ सम्म पुर्याए ।
नेपालका लागि करण केसीले विकेट लिए । त्यस्तै दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सन्दीप लामिछाने र रुपेश सिंहले एक-एक विकेट लिए ।
नेपालले अब शृंखलाको अन्तिम खेलमा शुक्रबार स्कटल्याण्डसँग खेल्ने छ । नेपालले यसअघि नेदरल्याण्ड्ससँगको खेलमा तीन सुपर ओभर खेल्दा पराजित भएको थियो भने स्कटल्याण्डलाई पराजित गरेको थियो ।






