पोखरा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुशरण गर्नुपर्ने बताउनुभएको छ ।
ललितपुरमा बिहीवार हामी एप सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले छोटो समयमा नै कोरियाले फड्को मारेको र त्यसमा नेपाली कामदारहरुको समेत योगदान रहेको बताउनुभएको हो ।
उहाँकाअनुसार कोरियासहित विभिन्न मुलुकमा गएर नेपालीले काम गरिरहेका छन् । ती राष्ट्रको आर्थिक विकासमा नेपालीहरुले महत्वपूर्ण योगदान पु¥याएको बताउँदै श्रममन्त्री भण्डारी ति देशले नेपालीको योगदानलाई कदर गर्नुपर्ने बताउनु भयो ।
उहाँकाअनुसार नेपाली श्रमिकले पनि नेपालमा फर्किसकेपछि विदेशको सीप, पुँजी, अनुभवलाई परिचालन गरी राष्ट्र समृद्ध बनाउन लाग्नुपर्छ ।
श्रममन्त्री भण्डारीले भन्नुभयो– ‘हाम्रा श्रमिकले आफ्नो रगत, पसिना बगाएर काम गरिरहेका छन् । तर त्यो कामले गर्दा उनीहरुको मुलुकमा आर्थिक उन्नति, समृद्धि र विकास भइरहेको छ । त्यो विकासको साझेदार हामी पनि र्हौं । त्यस कारण हाम्रा श्रमिकहरु सम्मानका पात्र हुनुपर्छ । सुरक्षित आप्रवाशनको व्यवस्था हुनुपर्छ । त्यो मुलुकले पाएका नागरिक सरह सेवा, सुविधा, पारिश्रमीक हुनुपर्छ ।’
उहाँकाअनुसार विदेशमा नेपाली कामदारलाई फरक दृष्टिले हेरिनु हुँदैन । ती राष्ट्रहरुले आफ्ना नागरिक सरह सेवा सुविधा दिनुपर्छ ।
भण्डारीकाअनुसार अहिले सरकारले विभिन्न देशसँग द्विपक्षीय श्रम सम्झौता गरिदैँछ ।
अन्तर्राष्ट्रिय फोरमहरुमा समेत सरकारले समान व्यवहारका लागि कुरा उठाइरहेको बताउँदै उहाँले नेपालीले सुरक्षित रुपमा काम गर्न पाउने अधिकारको सुनिश्चित गरिने बताउनु भयो ।
उहाँकाअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयको संरचना समेत विगतमा वैदेशिक रोजगार सम्बद्ध थिए ।
अहिले त्यसको पुनःसंरचना गरेर अघि बढिरहेको बताउनु भयो ।






