मातृभाषा पत्रकारितालाई सेवा भावना वा व्यवसायिकता भन्ने अन्योल रहेको सञ्चारकर्मीहरुले बताएका छन् ।
आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानले आयोजना गरेको सञ्चार माध्यममा मातृभाषाको पत्रकारिताको अवस्था र चुनौतिका विषयमा परामर्श कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । सार्वजनिक सेवा प्रशारण रेडियो नेपाल कार्यक्रम महाशाखाका प्रमुख ताराप्रसाद वस्तीले कार्यक्रम तथा समाचार बनाउँदा मातृभाषाका विषयलाई प्राथमिकतामा राख्न धेरै कोशिस गरे पनि उत्पादनको कमीले चाहे जति गर्न नसकिएको बताउनु भयो । उहाँले विभिन्न भाषा र संस्कृतिको उत्थानमा सहयोग पु¥याउने विषयसँगै राष्ट्रिय हित, राष्ट्रिय एकता अभिवृद्धि गर्न मातृभाषाका विषय र कार्यक्रम आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘रेडियो नेपालमा प्रशारण भइरहेका भाषाहरुको बारेमा जानकारी दिने र रेडियो नेपालमा प्रशारण भइरहेका आदिवासी जनजातीले बोल्ने जुन अहिले सूचीकृत भएका भाषा छन् । हामीले ती भाषाहरुमा के गरिरहेका छौं, कहाँ कहाँबाट के कार्यक्रम गरिरहेका छौं भनेर जानकारी दिने प्रयास गरेको छु । रेडियो नेपालले कार्यक्रम तथा समाचार बनाउँदा प्राथमिकतामा राख्ने पृष्ठभूमीलाई यहाँहरु समक्ष प्रश्तुत गर्ने जमर्को गरेको छु । जनजीविकाका विभिन्न विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम र समाचार प्रशारण गर्छौं । विभिन्न भाषा र संस्कृतिको उत्थानमा सहयोग पुराउने विषयहरुलाइ प्राथमिकतामा राख्छौं । त्यसैगरी राष्ट्रिय हित र राष्ट्रिय एकता अभिवृद्धि गर्ने गराउने विषयहरुलाई प्राथमिकतामा राखेर समाचार तथा कार्यक्रम उत्पादनको काम गर्छौ । राष्ट्रिय जागरण, विपद् सचेतना, सामाजिक चेतना, लोकतान्त्रिक तथा नैतिक मूल्य मान्यता एवं संस्कार बृद्धि गर्ने विषयहरुलाई बढी प्राथमिकता दिन्छौं ।’
कार्यक्रममा सार्वजनिक सेवा प्रशारण नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरी क्याम्पा राईले नेपाल टेलिभिजनले मातृभाषाका विषयलाई केही समय यताबाट मात्र औपचारिक रुपमा समावेश गर्न थालेको बताउनु भयो । दुई वर्षदेखि नेपाल टेलिभिजनले समावेशी पत्रकारिताको रुपमा मातृभाषामा समाचारमूलक सामग्री दिन थालेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपाल टेलिभिजनको इतिहास चालिस वर्षको भएपनि नेपाल टेलिभिजनमा मातृभाषा पत्रकारिताको इतिहास चाहिँ एकदमै नयाँ छ । युवा पनि छैन यो बच्चै छ किनकी हामी भर्खर दुई वर्ष अगाडिदेखि मात्रै यो अभ्यासमा छौं । आजको छलफलमा मातृभाषा पत्रकारिता भनिएको छ । यसलाई विश्वव्यापी रुपमा नेपालका सन्दर्भमा विविध तरिकाले व्याख्या गरिन्छ । विश्वव्यापी रुपमा भन्ने हो भने यसलाई बहुभाषिक पत्रकारिताका रुपमा लिइन्छ तर नेपाल टेलिभिजनले चाहीँ समावेशी पत्रकारिताको रुपमा ग्रहण गरेर कार्यान्वयन गरेको छ ।’
कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरीले मातृभाषा प्रवद्र्धनका लागि नीतिको खाँचो रहेको बताउनु भयो । मातृभाषा पत्रकारितालाई सेवा भावना या व्यवसायिकता भन्ने अन्यौल रहेको बताउनु भयो । उहाँले मातृभाषा पत्रकारितालाई मूलधारको पत्रकारिता नमान्ने गरिएको भएपनि अहिलेको डिजिटल युगसँगै मातृभाषामा सञ्चालन भइरहेका अनलाइन न्यूज पोर्टल सबै मूलधारको भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मातृभाषा पत्रकारिताको प्रबद्र्धनका लागि नीति निर्माणको खाँचो, सेवा भावना कि व्यवसायिकता भन्ने छ । अहिले हामी मातृभाषा पत्रकारिता गरिरहँदा यो चाहीँ सेवाको हिसावले गरिरहेको जस्तो, व्यवसायिकताको हिसावले कम मान्यता दिइएको जस्तो देखिन्छ । मातृभाषा पत्रकारितालाई मूलधारको पत्रकारिता नमान्ने तर अहिले डिजिटल युगसँगै सबैले अनलाइन पोर्टल मातृभाषामा सञ्चालन गरिरहनुभएको छ । त्यसैले अब अनलाइन न्युज पोर्टल सबै मूलधार हो तर यत्ति हो कि हाम्रो परम्परागत धारणा के बनेको छ भने मेन स्ट्रिमका पत्रकार भनेको गोरखापत्र, कान्तिपुर, अन्नपूर्णलगायत हुन् भन्ने दिमागमा क्लिक भइरहेको छ । तर त्यस्तो होइन अहिले त विश्वभर डिजिटल प्लेटफर्मले यस्तो प्रभाव ग¥यो कि हामीले चलाउने मोबाइलबाटै न्यूज पोष्ट गर्ने, अपलोड गर्ने न्युज पोर्टलहरुलाई मूलधारका मान्न सकिन्छ ।’
त्यस्तै गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक पुष्करभक्त माथेमाले मातृभाषा पत्रकारिता भन्दा पनि सरकारी सञ्चारमाध्यममा मातृभाषा उत्थानका विषयमा कार्यक्रम केन्द्रित रहेको बताउनु भयो । उहाँले सरकारी मात्र नभई निजी सञ्चारमाध्यममा मातृभाषी पत्रकारिताका बारेमा छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘आजको कार्यक्रम मातृभाषा पत्रकारिता भन्दापनि सरकारी सञ्चारमाध्यममा मातृभाषाको उत्थान कस्तो भइरहेको छ, राज्य सञ्चालित सञ्चारमाध्यमबाट मातृभाषा पत्रकारितामा कस्तो किसिमको योगदान भइरहेको छ भन्ने विषयमा बढी केन्द्रित भएको देखियो । साथै निजी सञ्चार माध्यमबाट भइरहेको पत्रकारितामा मातृभाषा पत्रकारिताको अवस्था कस्तो छ भन्ने विषयमा भने त्यति चर्चा हुन सकेन । सञ्चारमाध्यममा मातृभाषी पत्रकारिताको सशक्तीकरणको प्रतिष्ठानको सहभागिता कति छ ? दृष्टिकोण के छ भन्ने विषयमा पनि सुन्न पाइएको भए हामी अझ बढी लाभान्वित हुने थियौं ।’
कार्यक्रमका सहभागीहरुले मातृभाषी पत्रकारितामा सक्रियहरु आ–आफ्नो क्षेत्रमा विज्ञ भएपनि सरोकारवालाले सही सूचना प्राप्त गर्नेगरी समाचार तथा कार्यक्रम प्रकाशन प्रशारणमा जोड दिनुपर्ने बताएका थिए ।






