पोखरा । पोखरासहित देशभरका सुनचाँदी पसल अनिश्चितकालीन लागि बन्द भएका छन् । सरकारले सुनमा लगाइएको विलासिता कर र हिरामा लगाइएको भ्याट खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी पसल बन्द गरेरै आन्दोलनमा होमिएका हुन् ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको आह्वानमा व्यवसायी सडकमा ओर्लिएका हुन् । सरकारको पछिल्लो नीतिले सुनचाँदी, हिरा, जवाहतरात तथा हस्तकला व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्षरुपमा असर पर्ने व्यवसायीको जिकिर छ ।
सरकारले सुनमा लगाइएको विलासिता कर र हिरामा लगाइएको भ्याटले आफूहरुको व्यवसाय नै चौपट हुने र व्यवसायी नै पलायन हुने अवस्था आउने नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारको भनाइ छ ।
उनका अनुसार देशभरका सुनचाँदी व्यवसायमा करिब चार खर्ब लगानी छ । उक्त लगानी सरकारको पछिल्लो नीतिले डुब्ने अवस्था आएकाले आफूहरु बाध्य भएर सडकमा आउनु परेको अध्यक्ष सुनारको बनाइ छ ।
नीतिप्रेससँग कुराकानी गर्दै उनले भने, ‘आन्दोलनले व्यवसायमा प्रत्यक्ष असर त पर्छ नै । आन्दोलनको असर भन्दा सरकारको नयाँ नीतिले व्यवसायमा झनै ठूलो असर पारेको छ ।’
साउन १ गतेबाट अन्दोलन गर्ने भनिए पनि आफूहरु अहिले नै समस्या परेपछि आन्दोलन शुरु गरिएको उनले बताए । अनिश्चितकालका लागि यो आन्दोलन शुरु गरिएको अध्यक्ष सुनारको भनाइ छ ।
सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमा समेटिएका अव्यवहारिक कर नीति नसच्याएसम्म आफूहरुले सडक नछोड्ने अध्यक्ष सुनारको चेतावनी छ ।
उनले भने, ‘यसअघि प्रधानमन्त्रीले मौखिक आश्वासन दिनुभएपछि आफूहरुले आन्दोलन रोकेको तर जस्ताको तस्तै संसदबाट पारित भएपछि पुनः आन्दोलनमा आउन बाध्य भएका हौँ ।’
नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीका सचिव सुरेन्द्र विकका अनुसार सरकारद्वारा सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर तथा हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र दुई प्रतिशत विलासिता कर लगाउने गरी नीति बनाइएको छ ।
सचिव विकले सुनमा लगाइएको कोटा प्रणाली खारेज गर्नुपर्ने माग समेत आफूहरुले राखेको बताए ।
व्यवसायीले केही दिन अघि पनि व्यवसाय बन्द गरेर प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका थिए भने र्याली र कोणसभा गरेका थिए ।






