पोखरा । क्षेत्र भ्रमण सहित प्रतिवेदन लेखन प्रतियोगितामा प्रथम भएकी रेन्बो एकेडेमिक होम्सकी छात्रा स्वीकृति भण्डारीलाई पुरस्कार प्रदान गरिएको छ ।
सामाजिक अध्ययन मञ्च कास्कीले हालै गरेको क्षेत्र भ्रमण सहित प्रतिवेदन लेखन प्रतियोगिता २०८२ मा प्रथम भएकी रेन्बो एकेडेमिक होम्स पोखरा १५ कोलपाटनकी छात्रा स्वीकृति भण्डारी प्रथम भएकी थिइन् ।
समाजिक अध्ययन मञ्चले मंगलबार विद्यालयमानै पुगेर भण्डारीलाई नगद ५ हजार र प्रमाण पत्र प्रदान गरेको हो । उक्त कार्यक्रममा मञ्चका सचिव तिलक प्रसाद काफ्ले सल्लाहकार कृष्ण प्रसाद ढकाल र सदस्य दायासागर पौडेलले नगद सहित प्रमाण पत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा बोल्दै रेन्बो एकेडेमिक होम्स पोखरा १५ कोलपाटनका प्रिन्सिपल बावुराम बरालले अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न यस्ता खालका प्रतियोगिता विद्यार्थीका लागि कोषेढुड्डा सावित हुने बताउँदै विद्यालयमा आएर पुरस्कार वितरण गरेकोमा मञ्च प्रति आभार व्यक्त गरे ।
सामाजिक अध्ययन मञ्च कास्कीका सचिव तिलक प्रसाद काफ्लेले पुरस्कृत विद्यार्थी स्वीकृति भण्डारीलाई बधाई ज्ञापन गरे ।
रेन्बो एकेडेमिक होम्स २०६० देखि एसएलसी एवं एसईईमा सहभागी हुँदै आएको छ । २०५२ सालमा स्थापित विद्यालयमा हाल करिब १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन संकायको पढाई हुँदै आएको छ ।






