पोखरा । पोखरा महानगरपालिका वडा नं ८ ले आफ्नो क्षेत्रभित्रका ८० वर्षभन्दा बढी उमेर पुगेका ७० जना ज्येष्ठ नागरिकलाई विशेष सम्मान गरेको छ। उनीहरूलाई दोसल्ला, न्यानो कपडा, प्रमाणपत्र र खाद्य सामग्रीसहित आदरपूर्वक सम्मान गरिएको हो।
सम्मानित नागरिकहरू ८० देखि ९८ वर्ष उमेर समूहका हुन्, जसले समाज र समुदायमा लामो समय योगदान दिएका छन्।
कार्यक्रममा वडाध्यक्ष रुद्रनाथ बरालले ज्येष्ठ नागरिकहरूलाई समाजका अभिभावकको रूपमा सम्मान गर्न पाउनु गौरवको कुरा भएको बताए। “यो केवल सम्मान मात्र होइन, हाम्रो माया र कदरको प्रतीक हो। यो यात्रामा हामीले अझ धेरै गर्न बाँकी छ,” उनले भने।
उनले वडाबाट आगामी दिनहरूमा पनि ज्येष्ठ नागरिकहरूको जीवन सहज र सम्मानजनक बनाउन विभिन्न पहलहरू जारी राखिने जानकारी गराए।
कार्यक्रममा ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष शिवप्रसाद चालिसेले वडाले ज्येष्ठ नागरिकप्रतिको जिम्मेवारी निकै राम्रोसँग बोकिरहेको भन्दै धन्यवाद व्यक्त गरे।
कार्यक्रम वडाध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन वडासचिव झंकनाथ पौडेलले गरेका थिए।






