बागलुङको जैमिनी नगरपालिका–७ ढावाका ६३ वर्षीय पूर्व वडा अध्यक्ष जितबहादुर राना मगरको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तहरूले अस्पतालमा तोडफोड गरेका छन्।
हर्नियाको अप्रेसनका लागि आएका राना मगरको यही अस्पतालमा साउन ५ गते शल्यक्रिया गरिएको थियो। बुधबार ड्रेसिङ गर्दा स्वास्थ्य ठिक हुँदै गएको भन्दै उहाँ आफैंले आफन्तलाई भिडियो कल गरेका थिए। तर बिहीबार बिहान १०:४५ बजे अचानक बेहोस भइ मृत घोषणा गरिएको हो।
‘उहाँको पोस्टेडको समस्या थियो । उहाँको ५ गते अप्रेसन भएको थियो यहि अस्पतालमा । हिजो (बुधबार) ड्रेसिङ गर्ने क्रममा अप्रेसन पश्चात उहाँले मलाइ ठिक भयो, म फर्किन्छु एक–दुइ दिनमा भन्दै फोन गर्ने भिडियो कल गर्ने गर्नुभएको थियो । मलाइ पनि फोन गर्नुभएको थियो’ ति आफन्तले भने, ‘तर, हिजो (बुधबार) अप्रेसनको ड्रेसिङ गर्ने क्रम रहेछ त्यहि क्रममा कुरुवाले लिएर जानुभयो डाक्टर पनि आउनुभयो अनि डाक्टले कुरुवालाई तपाइ जान पर्दैन म गराएर ल्याउछु भनेर भन्नुभयो । ड्रेसिङ गरेर विरामी फर्कनुभएन एक डेढ घण्टानै भएको थियो त्यसपछि कुरुवाले अर्को डाक्टरलाई त्यहाँ लिएर जाँदा जितबहादुर भइमा घोप्टो परेर पल्टनु भएको थियो त्यसपछि उत्तानो पार्नुभयो फर्कदा अलिकति समस्या भएको देखियो ।
त्यसपछि डाक्टरहरूले हतारहतरमा प्रयास गरे पनि जीवनरक्षा सम्भव नभएको बताइएको छ। राना मगरको मृत्यु डाक्टरको लापरवाहीका कारण भएको भन्दै आक्रोशित आफन्तहरूले अस्पतालमा तोडफोड गरे। विशेषगरी ड्रेसिङका लागि लगेका डाक्टर अहिलेसम्म सम्पर्कमा नआएको भन्दै थप आक्रोश देखिएको हो।
घटनापछि पीडित पक्ष र अस्पताल प्रशासनबीच वार्ता टोली बनाएर छलफल भएको थियो। छलफलमा अस्पतालले त्रुटि भएको स्विकारे गरेपनि अन्य कुरा नगरेका कारण उनीहरु आक्रोशित भएका हुन् ।






