मिति २०८२ असोज २६ गते आइतबार, इस्वीसंवत अक्टोबर १२ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिककृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिककृष्णपक्षको षष्ठी तिथि साँझमा ७ः५० मिनेटसम्म त्यसपछि सप्तमी तिथि लाग्नेछ । नक्षत्रमा मृगशिरा साँझमा ७ः४९ मिनेटसम्म त्यसपछि आद्रा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वरियान २९ घटि ०५ पलासम्म त्यसपछि परिध योग लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा सौम्य रहनेछ ।
सूर्य कन्या राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान २८ घटि ५४ पला अर्थात ११ घण्टा ३६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः०३ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः३६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ९ः५८ बजे र अस्ताउने समय भोलि बिहानमा ११ः४३ बजे रहेको छ ।
आजको राशिफल
मेषः आज शैक्षिक व्यवसाय गर्नेका लागि समय अनुकूल रहनेछ । शैक्षिक उन्नतिका अवसर मिल्नेछन् । वैदेशिक कार्य पनि सञ्चालन भएर जाने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । आयस्रोत बढ्नुका साथै मिठो भोजन प्राप्त होला । यात्रागत कार्य सार्थक रहनेछ । विवाहित व्यक्तिको दाम्पत्य जीवन सुखमय रहनेछ । सबल स्वास्थ्यका लागि आज खानपानमा विशेष सजग रहनु उचित हुनेछ ।
वृषः आज उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विगतको श्रमबाट राम्रै धनलाभ हुने देखिन्छ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । नयाँ कामहरू पाउने ग्रहयोग छ । आफन्तको साथ मिल्नेछ । आजको दिन चरित्रसम्बन्धी आरोप आउन सक्ने भएकोले विपरीत लिङ्गीबाट टाढा रहनु हितकर हुनेछ ।
मिथुनः आज दिन चुनौतीयुक्त रहने देखिन्छ । विशेष काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । मातापिता र सन्तानसँग मतभेद बढ्ने देखिन्छ । पढाइलेखाइमा अवरोध आउने योग छ । आजको कुनै निर्णय खराब हुनसक्छ, निर्णय गर्दा अलिक विचार गर्नुपर्नेछ । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । कतै रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
कर्कटः आज बलभन्दा बुद्धिको काममा जोड दिनुपर्ने समय छ । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने सम्भावना छ । नगद सहयोग गर्न बन्द गर्नु हितकर होला । विभिन्न उपहार प्राप्त हुने योग छ । सहयोगीले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम शुरू गर्न सकिने छ । जोखिम बढ्नेछ तर राम्रै फाइदा होला । शत्रुपक्ष परास्त हुनेछ । रसरागमा आकर्षित भइनेछ ।
सिंहः आज बौद्धिक रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्ने समय भए पनि धार्मिक कार्यमा खासै मन जानेछैन । कसैबाट विश्वासघात हुन सक्ने भएकोले गोपनीयतामा एकदमै सावधान रहनुपर्ला । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने प्रक्रियामा अनुकुलता बढ्नेछ । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुने योग छ । आरोग्यता, प्रेमभाव र दाम्पत्य सुख बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । यात्रा सुखद् रहनेछ ।
कन्याः आज बोलीको भरमा काम बन्ने दिन छ तर जोश-जाँगरले साथ नदिँदा समयमा कार्य सम्पादन नहुन सक्छ । निर्णायक क्षमतामा कमी आउला । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । व्यापार व्यवसायमा आंशिक सफलता प्राप्त होला । आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने योग रहेकोले सजगताको दरकार छ । सुख र दुःखको मिश्रित अनुभूतिका साथ दिन बित्ने देखिन्छ ।
तुलाः आज मिश्रित फलदायी दिन छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । आम्दानीका अवसर प्राप्त हुनेछन् । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुने समय छ । साहसिक काममा आकर्षण रहला । स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्छ, खानपानमा सजक रहनुहोला । गोपनीयतामा निरन्तर कायम रहनु हितकर हुनेछ । भुलेका मित्रले सम्झनेछन्, तर कसैसंग विवाद पनि हुन सक्छ । विद्यार्थीका लागि दिन राम्रो छ ।
वृश्चिकः आज घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनसक्ने समय छ । पति-पत्नीबीच विवाद बढ्ने देखिन्छ तर अतिरिक्त प्रेम-प्रसङ्गले सुखदानुभूति गराउनेछ । बोलीको गलत अर्थ लाग्नाले वादविवादको योग छ । सहयोगीहरू टाढिन सक्छन्, ध्यान राख्नुहोला । तपाईंका कमजोरीमाथि टिप्पणी हुनसक्छ । खर्च र ब्यस्तता केही बढ्नेछ ।
धनुः आजको दिन समाजसेवा तथा राजनीतिमा गरेका प्रयास सकारात्मक रहनेछन् । मिष्ठान्न भोजनको अवसर प्राप्त हुन सक्छ । कृषिकार्यमा केही समस्या देखिए पनि राम्रै धन आर्जन हुने समय छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछन् । विशेष योजनाप्रति लगनशील बन्न नसक्दा आफ्नैबाट आलोचनाको शिकार हुने योग छ । पराक्रम र सुख बढ्नेछ।
मकरः आज बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । वैदेशिक कार्यहरू अघि बढ्नेछन् । तर, खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने सम्भावना छ, सावधानी अपनाउनुहोला । भेटघाटको अलमलले आजको योजना बिग्रन पनि सक्छ, ध्यान राख्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भः आज कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय भए पनि आम्दानी सीमित हुनाले आर्थिक कठिनाइ आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुन सक्छ । प्रेम प्रसङ्गअघि बढ्दा अध्ययन कार्यमा केही कमी आउन सक्ने देखिन्छ, ध्यान राख्नुहोला । निको भइसकेको रोगले पुन सताउने योग छ । विगतको श्रमबाट भने राम्रै धनलाभ हुने सम्भावना छ । मिठो भोजन प्राप्त हुने दिन छ ।
मीनः आज अरुको विश्वास सजिलै जित्न सकिने समय छ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । तर, हाड जोर्नीको समस्याले सताउने देखिन्छ । धार्मिक कार्यमा खासै रुचि नहोला । खर्च केही वृद्धि हुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काम सार्थक रहला ।
साहित (यात्रा): सूर्य कन्या राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । त्यसैले पूर्व र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम र उत्तरर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।






