नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित हुनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनको मतपरिणामअनुसार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५ सय ६४ मत मात्र प्राप्त गर्नुभयो । कुल २ हजार २ सय २७ मत खसेको निर्वाचनमा ओलीले भारी मतान्तरले विजय हासिल गर्नुभएको हो । यो विजयसँगै ओलीले पार्टी नेतृत्वमा ‘ह्याट्रिक’ पूरा गर्नुभएको छ । यसअघि २०७१ मा नवौँ महाधिवेशनबाट पहिलो पटक र २०७८ मा दसौँ महाधिवेशनबाट दोस्रो पटक अध्यक्ष निर्वाचित हुनुभएका ओलीले यसपटक पनि स्पष्ट बहुमत प्राप्त गर्नुभयो । ओलीको प्यानलबाट महासचिवमा शंकर पोखरेल निर्वाचित हुनुभयो ।






