अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्राथमिकता, उपयोगिता र गुणस्तर कमजोर हुँदा नागरिक असन्तुष्टि बढ्दै गएको बताउनुभएको छ । शुक्रवार नेपाल आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्षको बजेटमा विभिन्न शिर्षकमा अबण्डा बजेट राख्ने प्रवृत्तिले नागरिक असन्तुष्ट रहेको र अर्थतन्त्र पनि कमजोर बनाएको बताउनु भयो । सार्वजनिक खर्चको उपयोगिता, सेवा प्रवाह सुधार र आर्थिक सुशासन आजको सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै मन्त्री सिन्हाले यसले नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग प्रत्यक्ष सम्बन्ध राख्ने बताउनु भयो ।






