रष्ट्रिय सभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षबाट सञ्चालन गर्ने तयारी भइरहेको छ ।
राष्ट्रिय सभाको आउँदो अधिवेशनका बैठकहरु सञ्चालन गर्न कृषि समितिको बैठक कक्षलाई आवश्यक मर्मत गर्ने कार्य भइरहेको संघीय संसदका उपसचिव अधिराज राईले जानकारी दिनुभयो ।नयाँबानेश्वरस्थित संघीय संसद भवनमा गत भदौमा जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले आगजनी गरेर क्षति पु¥याएपछि राष्ट्रिय सभा बैठकका लागि कृषि समितिको हलबाट बैठक सञ्चालनको गृहकार्य अघि बढाइएको हो । उहाँले अहिले बैठक कक्षमा फर्निचर व्यवस्थापनदेखि बाटो मर्मतको कार्य भइरहेको बताउनु भयो । उहाँले अब एकहप्ता भित्र सभाको बैठक सञ्चालनका लागि बैठक कक्ष तयार भइसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, राष्ट्रिय सभाको अर्को अधिवेशनका बैठकहरु सञ्चालन गर्नको लागि हामीले पुरानै राष्ट्रिय सभाको सभाकक्षलाई नै मर्मत गरेर सभाका बैठकहरु सञ्चालन गर्नको लागि तयारी गरिरहेका छौँ । अहिले त्यहाँभित्रको फर्निचर व्यवस्थापनको कामहरु धमाधम भइरहेको छ । त्यो अन्तिम चरणमा पुगेको छ । र अन्य कुराहरु पनि भइरहेको छ । सभाकक्षमा पुग्नको लागि बाटो लगायतका विषयमा हामीले काम गरिरहेका छौँ । सम्पूर्ण कामहरु एक हप्ताभित्र सकिने गरेर हामीले काम गरिरहेका छौँ ।
उहाँले दर्शक र सञ्चारकर्मीहरुको सहजताका लागि समेत कार्य भइरहेको बताउनु भयो ।






