गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न अपरिहार्य रहेको बताउनुभएको छ । बिहीवार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले यस्तो बताउनुभएको हो । उहाँले विश्वव्यापी रूपमा अन्तरदेशीय तथा सीमापार अपराधहरु बढिरहेको उल्लेख गर्दै ती अपराधहरु न्युनिकरण तथा नियन्त्रण गर्न राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन जरुरी रहेको समेत बताउनु भयो । नेपाली नागरिकहरुको विदेश प्रस्थानलाई व्यवस्थित गर्न केन्द्रित रहेको अध्यागमन प्रणालीको प्राथमिकता अब समयको मागसँगै विदेशी नागरिकहरुको आवागमन व्यवस्थित गर्नमा केन्द्रित हुन आवश्यक रहेको उहाँको भनाइ छ ।






