कानून न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानून बनाउन पाँच वर्ष लगाउनेहरुलाई भोट नदिन आग्रह गर्नुभएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले जनताप्रति उत्तरदायी र जिम्मेवारीवोध भएका जनप्रतिनिधि चुन्न आग्रह गर्नुभयो । जेन-जी आन्दोलनले योग्य जनप्रतिनिधि छान्ने मौका दिएको उहाँको भनाई छ । उहाँले हाल एउटा कानून बनाउन ५ वर्ष र प्रत्यायोजि विधायन बनाउन अर्को ५ वर्ष लगाउने जनप्रतिनिधि हुँदा समस्या भएको बताउनु भयो । उहाँल् फागुन २१ गते निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गर्नुभयो । उहाँले फेरि पनि पाँच जना व्यक्तिको ईसारामा कानून बनाउनेलाई भोट दिएमा अर्को १० वर्षमा पनि देश यही स्थितिमा रहने बताउनु भयो ।
उहाँले भन्नुभयो, यो एउटा कानुन बनाउन ३ वर्षको ठाउँमा ५ वर्ष लगाउने हाम्रा प्रकृतिका हाम्रा जनप्रतिनिधि, त्यसको प्रत्यायोजित विधायन बनाउनको निम्ति अर्को ५ वर्ष लगाउने जनप्रतिनिधिहरु, यस्ता प्रतिनिधिहरुलाई तपाई फेरि भोट खसाल्न जानुहुन्छ भने तपाईहरुको हात काम्नुपर्छ । चुनावमा अब कमसेकम यो अवरनेश भएको र तपाईहरुलाई डेलिभर गर्नसक्ने र जनतासंग पुग्नसक्ने जनप्रतिनिधिहरुलाई तपाईहरुले अब चुन्नुस्, यो मौका अब तपाईहरुलाई आएको छ । जेनजी आन्दोलनले यो मौका दिएको छ । मैले तपाईहरुलाई भने समयमा चुनाव गर्नुपर्छ, सरकार निर्वाचन गर्न प्रतिवद्ध छ । अबको समय भनेको ५ जनाले ताली बजाउ भनेर भन्नासाथै ताली बजाएर कानुन पारित गर्ने व्यक्तिलाई चुनेर पठाउनुभयो भने १० वर्ष पछि हामीले कुरा गर्दाखेरी यही ठाउँमा फर्केर आइराखेका हुन्छौँ ।
उहाँले आवश्यकताका आधारमा कानून निर्माणमा प्राथमिकता दिनुपर्ने पनि बताउनु भयो । उहाँले कानून बनाउँदा बाझिने खालको कानून बनाउन नहुनेमा पनि जोड दिनुभयो ।






